आमाले गरिन् आफ्नै छोरीको हत्या

जनकपुर, मंसिर २० ।
धनुषामा एक महिलालाई आफ्नै छोरीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी १६ वर्षीया छोरी सोनी कुमारी मण्डलको हत्याको आरोपमा जनकपुर उपमहानगरपालिका–२४, सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डललाई सार्वजनिक गरेको हो ।

सोनीले आफूले चाहेको केटासँग विवाह गर्न आमाबुवासँग अनुरोध गरेकी थिइन् । तर, आमाबुवाले नमानेको र पछि उनीहरुबीच विवाद बढ्दै जाँदा आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

सोनीले आफूले मन पराएको केटासँग विवाह गर्ने अडान लिँदै आफ्नी आमासँग समेत बोलचाल बन्द गरेकी थिइन् । प्रहरीका अनुसार सोनीले एउटै घरमा भिन्दै पकाएर खाँदै आएकी थिइन् । सोनी मन पराएको केटासँग भाग्ने डरले आमा राजकुमारीले उनलाई केही दिन कोठामा थुनेर राखेकी थिइन् ।

झन विवाद बढेपछि सोनीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा परिवारका अन्य सदस्यहरुको समेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको थपलियाले बताए ।