अस्पतालले भन्यो–‘पारसको मुटु एकदमै कमजोर छ’

काठमाण्डौं, माघ १५ ।
पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था खतरामुक्त रहेको नर्भिक अस्पतालले जनाएको छ । शाहको उपचारमा संलग्न चिकित्सकको टोलीले मंगलबार पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएको हो ।

उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिए ।

बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनको भनाई छ । हाल शाहलाई सीसीयूमा सारिएको चिकित्सकहरुले बताएका छन् । पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको प्राडा यादव देव भट्टले बताए ।

पूर्वराजा ज्ञानेन्द्रलाई पनि हृदयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कोलेस्ट्रोल बढी भएको जनाइएको छ । यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।

पारसलाई हिजो पाटनमा पूजामा सहभागि भएर फर्किने क्रममा एक्कासी छाती दुखेको थियो भने तत्कालै नर्भिक अस्पताल पुगेका थिए । अहिले पारसको उपचारमा प्रा.डा. यादवदेव भट्टको नेतृत्वमा डा. जेपि अग्रवाल,डा. नग्मा श्रेष्ठ लगायत १४ जना स्वास्थ्यकर्मीको टिम खटाइएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले बताए ।

चिकित्सकको भनाई अनुसार हृदयघात हुँदा मुटुको नसा बन्द हुने र रगत संचालन हुन पनि बन्द हुन्छ । यस्तै मुटुको मासु मर्न थाल्छ । हृदयघात हुँदा मुटुको नसा हेरेर बेलुन र तारले खोलेर स्टेन्ट हालिन्छ । यही प्रविधि मार्फत पारसलाई पनि उपचार गरिएको चिकित्सकको टोलीले जनाएको छ ।