अभिषेकप्रताप शाहले संघीय फोरम छाडे, कांग्रेस प्रवेश गर्दै

काठमाडौं, असोज १८ ।
संघीय समाजवादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेकप्रताप शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
मंगलबार विज्ञप्ति प्रकाशित गर्दै शाहले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको बताएका हुन् ।
‘मुलुकमा भएका मधेश आन्दोलनमा ११ वर्षदेखि इमानदारितापूर्वक भूमिका निर्वाह गर्दै आएकामा पार्टी नेतृत्वबाट आफ्नो त्याग र बलिदानलाई ओझेलमा पार्दै आसेपासे, व्यापारी र गैरराजनीतिक चरित्रका व्यक्तिहरुलाई मात्र प्राथमिकता दिइरहँदा पीडाबोध भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा शाहले पार्टी नेतृत्वप्रति चरम असन्तुष्टी प्रकट गरेका छन् । समानुपातिक सांसद मनोनित गर्ने क्रममा पैसा लिने, पैसा नभए उनीहरुको नाममा रहेको जग्गा बिक्री गराई पैसा असुल्नेजस्ता क्रियाकलाप विगत चार वर्षदेखि आफ्नै आँखाले देखिरहेको उनले बताएका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको दोहोरो चरित्र, मधेश आन्दोलनलाई माध्यम बनाएर मधेशी नेताहरुले व्यक्तिगत सम्पत्ति मात्र बढाइरहेको, मधेश शब्द ती नेताहरुका लागि दोहन गर्ने गतिलो स्रोत बनेको, शहीद परिवारलाई राहतको प्याकेजसम्म दिन नसकेकोलगायत आरोप शाहले विज्ञप्तिमा लगाएका छन् ।
प्रदेश २ को स्थानीय तह निर्वाचनमा पश्चिमका कुनै नेतालाई प्रचारप्रसारमा सहभागी नगराइएको, पूर्वका नेताहरुले पश्चिम मधेशलाई उपेक्षा गर्दै आएको तथा आफ्नो क्षमता, राजनीतिक चेतना र अन्तर्रा्ष्ट्रिय सम्बन्धको उचित मूल्यांकन नभएका कारण पार्टी परित्यागको निर्णयमा पुगेको उनले उल्लेख गरेका छन् ।
निकटस्थ स्रोतका अनुसार दुवै संविधान सभामा फोरम नेपालका तर्फबाट कपिलवस्तु २ बाट निर्वाचित सांसद शाह आफ्ना पाँच हजारभन्दा बढी समर्थकहरुका साथ कांग्रेस प्रवेश गर्दैछन् । १९ असोजमा कपिलवस्तुको बहादुरगञ्ज पुगेर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम छ ।
शाहका हजुरबा स्वर्गीय शिवप्रताप शाह ०१५ सालको पहिलो आमनिर्वाचनमा सांसद निर्वाचित भएर अर्थ राज्यमन्त्रीसमेत बनेका थिए । कांग्रेसबाटै राजनीति थालेका उनका बाबु स्वर्गीय अजयप्रताप शाह राप्रपाबाट सांसद तथा केन्द्रीय सदस्य बनेका थिए ।
भारत लखनऊस्थित बनारसीबाबु दास विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातक अभिषेकले भने आफ्नो सकृय राजनीतिलाई तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (हाल संघीय समाजवादी फोरम)बाट अगाडि बढाएका हुन् । पार्टी छाड्ने निर्णयसहितको उनको विज्ञप्तिमा मधेशी राजनीतिबाटै विरक्तिएको उल्लेख गरेका छन् ।