अन्नपूर्ण गाउँपालिकामा नागरिकको गुनासो–‘भत्ता लिन जाँदा उल्टै ऋण लाग्यो’

पोखरा, चैत १५ ।
अन्नपूर्ण गाउँपालिकाका नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझ्न सकस भएको गुनासो गरेका छन् । सरकारले बैंकमार्फत आर्थिक कारोबार गर्नुपर्ने बाध्यकारी नियम बनाएपछि यहाँका नागरिकको सामाजिक सुरक्षा भत्ता पनि बैंक मार्फत वितरण हुन थालेको छ । तर बैंक टाढा भएकोले भत्ता लिन समस्या भएको उनीहरुको गुनासो छ । ‘नयाँपुलमा बैंक छ । भत्ता लिन जाँदा आउँदा २ हजार खर्च हुन्छ, उनीहरु भन्छन्–खाने बस्ने खर्च कटाउँदा उल्टै ऋण खोज्नुपर्ने अवस्था आयो । हामी समस्यामा प¥यौं ।’

लान्दु्रकका स्थानीय दुर्गाबहादुर क्षेत्रीले बृद्धभत्ता लिएर फर्किँदा बाटैमा सकिने गरेको दुखेसो पोखे । बैंकले गाउँमै आएर भत्ता बाढ्छ भन्ने सुनेका थियौं । अहिलेसम्म गाउँमा बैंक देखेको छैन, उनले भने–पहिले सचिवले गाउँमै भत्ता बाढ्थे र पो सजिलो हुन्थ्यो । नयाँपुल पुगेर भत्ता बुझ्दा साह्रै सकस भएको छ ।’ गाउँमै बैंक बोलाएर भत्ता बाढ्ने ब्यवस्था मिलाईदिन गाउँपालिकासँग उनको आग्रह छ । अर्का स्थानीय राजु गुरुङ पनि भत्ता बुझ्ने प्रक्रिया झण्झटीलो र खर्चिलो भएको गुनासो गर्छन् । अन्नपूर्ण गाउँपालिकाले तोल्कामा आयोजना गरेको सार्वजनिक सुनुवाईका क्रममा उनीहरुले यस्तो गुनासो पोखेका हुन् ।

गाउँपालिका अध्यक्ष यूवराज कुवँरले चाहीँ बैंकका म्यानेजर सँग समन्वय गरेर समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाए । ‘बैंकबाट झिकेर हामीले भत्ता दिन मिल्दैन । बैंककै कर्मचारी आएर बाढे भने सजिलो हुन्छ, उनले भने–एकपटक छलफल गर्छौं । प्रत्येक चार महिनामा गाउँ डुलेर भत्ता बाँडिदिन आग्रह गर्छु ।’

कार्यक्रमका सहभागीहरुले एक्यापका कारण गाउँलेले दुख पाएका कुरालाई पनि उठाए । गोपाल सुवेदीले एक्यापका कारण जंगली जनावरको आतंक बढेको बताए । ‘खेती बाली लगायो भित्र्याउने बेलासम्म बोटमै सकिन्छ । घरबाट मकैका झोली बाँदरले खोस्छ, उनले भने–जनावरको आतंक साह्रै बढेको छ । यसको नियन्त्रण गर्न गाउँपालिकाको कार्यक्रम के छ ?’ गाउँपालिका अध्यक्ष कुवँरले चाहीँ नयाँ वन ऐन बन्ने क्रममा रहेकोले त्यसले सम्बोधन गर्ने बताए ।

स्थानीयहरुले सार्वजनिक जग्गाको संरक्षण हुन नसकेको, गाउँपालिकाले लिने कर बढी भएको, लक्षित बर्गका कार्यक्रम सदुपयोग नभएको, भूकम्प पीडितले अनुदान पाउन नसकेको लगायत गुनासो गरे । स्थानीय भरत गुरुङले वडा नम्बर ७ को भवन निर्माण र ठाउँसारीबारे प्रश्न गरे । उनले गाउँमा माईक्रो हाईड्रोबाट मात्रै विद्युतीकरण प्रशस्त नभएको भन्दै केन्द्रिय विद्युत विस्तारका लागि पनि पहल गरिदिन आग्रह गरे ।

गाउँपालिका अध्यक्ष यूवराज कुवँरले विद्युतीकरणको प्रश्ताव संघ सरकासँग पेश गरिसकेको, वडा भवन निर्माण प्रक्रिया सुरु भएको र बजेट समेत विनियोजन गरिएको, लक्षित बर्गका बजेटबाट आयआर्जन र सीप विकासका क्षेत्रमा लगानी गरिएको, गाउँपालिकाले लिने कर पहिलेभन्दा घटेको बताए । राजश्व परामर्श समितिको सिफारिसका आधारमा मात्रै कर निर्धारण गरिएको उनले बताए ।

उपाध्यक्ष तथा राजश्व परामर्श समितिकी संयोजक सगुन गुरुङले ब्यवसायको प्रकार र आयआर्जनलाई हेरेर नै कर निर्धारण गरिएको बताईन् । प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले गाउँपालिकामा एकीकृत सम्पत्ति कर हटाएर सम्पत्ति कर मात्रै लागू गरिएको र ब्यवसाय मुल्यांकन गरेर कर निर्धारण गरिएको बताए । वडा नम्बर ७ का अध्यक्ष घनश्याम चापागाईंको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव नारायण क्षेत्रीले गरेका थिए भने सहजीकरण पत्रकार प्रकाश ढकालले गरेका थिए ।