अन्तिम पटक पाइलटले भनेका थिए–‘हेभी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ’
काठमाण्डौं, फागुन १५ ।
कान्तिपुर डेली डटकमले लेखेको छ–‘हेलिकप्टर दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार हेलिकप्टर टुक्रा–टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगिसेकेका छन् ।
‘हेलिकप्टर टुक्रा–टुक्रा भएर जलिरहेको छ,’ उनले टेलिफोनमा भने, ‘प्रहरी आइपुगेको छैन। हामीले जीवित व्यक्ति भेटेका छैनौं । ५ वटा लास जलिरहेको अवस्थामा छ ।’
घटनास्थलमा पुगेका ठूलो फेदी स्वास्थ्य केन्द्रका इन्चार्ज उमानाथ पौडेलले अहिलेसम्म ५ वटा शव फेला परेको बताए । उनले भने, ‘पाथीभरा मन्दिरबाट उडेको १ मिनेटमा सिस्ने खोला तारेभीरको चुच्चोमा हेलिकप्टर खसेर दुर्घटना भएको हो ।’
कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ ।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।
सुकेटार टावरलाई पाइलटको अन्तिम जानकारी–‘हेभ्भी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ ।’ त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए ।
त्यसको १ घण्टा पौने १ क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा ‘हेभ्भी स्नोफल’ भएको बताएका थिए । प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, ‘यता मौसम खराब छ । हेभ्भी स्नोफल भइरहेको छ। म उड्न सक्दिनँ ।’