अन्तिममा रवीन्द्रले भनेका थिए–‘मौसम खराव छ, हामी फर्किनुपर्छ’

काठमाण्डौं, फागुन १६ ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारी विमानस्थलको निरीक्षणका लागि डिजाईन र प्राविधिक सहित चुहानडाँडा पुगेका थिए । चुहानडाँडा पुगेर उनले प्रधानमन्त्रीलाई धेरै पटक सम्झेर सम्बोधन गरे । प्रधानमन्त्रीकै सन्देश लिएर आएको उनले बताएका थिए ।

मन्त्री अधिकारीले हेलिकोप्टर दुर्घटनाअघि चुहानडाँडा विमानस्थल निरीक्षणपश्चात् गरेको भाषण–

अहिले हामी यहाँ आइरहँदा एयरपोर्टको सन्दर्भ चलाउन होइन कि एयरपोर्ट बनाउने हिसाबबाट हेर्न आएका छौँ । यहाँको अवस्थालाई बुझ्न आएका छौँ । मेरो साथमा डाँडा एअरपोर्टको (नक्सा देखाउँदै) नक्सा, इस्टमेट, डिजाइन सबै छ । पहिला २९ करोड भने पनि अहिले हामो इस्टमेटअनुसार ८५ करोड खर्च हुने अवस्था छ । यहाँ (एअरपोर्ट) निर्माण गर्नका लागि ।

म यतिबेला दुईवटा सन्दर्भमात्रै बताउन चाहान्छु । एउटा, वर्तमान सरकार बनिसकेपछाडि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रालाई, यो अभियानलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहुभएको छ ।

हामी त्यो मन्त्री मण्डलमा उहाँको नेतृत्वमा काम गरिरहेका छौँ । यो ठाउँ उहाँको जन्मस्थल भएका कारणले मात्रै होइन, यो ठाउँ यस क्षेत्रको उपयुक्त ठाउँ भएको हुनाले पनि यो ठाउँमा एअरपोर्ट बनाउने सन्दर्भमा छलफल र्गयौँ । सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई भन्नुभयो त्यसको सन्दर्भमा के कस्तो लाग्छ सबै कुराहरूको डिटेल अध्ययन गर्नुहोस् ।

अघिल्ला अध्ययनका आधारमा हामीले फेरि अध्ययन र्गयौँ । र अध्ययन गर्दाखेरि आज हामी यो नक्सा र सबैसहित एउटा अध्ययन पूरा गरिसकेर सम्माननीय प्रधानमन्त्रीज्यूले अब त्यो अध्ययन गरिसकेपछाडि अरु होइन पर्यटन मन्त्री तपाई आफैं जानुस भनेर, चरनडाँडा हेरेर आउनुहोस भन्नुभयो ।

त्यसपछि, त्यो अध्ययन पछाडि आज हामी यो ठाउँको स्थलगत अध्ययन गर्नका लागि आएका छौं । अरु अध्ययनले त देखाइरहेको छ, यत्तिकै हेर्दाखेरि पनि यहाँ एअरपोर्ट बनाउनका लागि उपर्युक्त ठाउँ छ । किनभने यहाँ केरी कुराले पनि छेक्दैन । त्यस्तो ठाउँमा भएको हुनाले सबै हिसाबले यो उपर्युक्त हुन्छ भने हामीले ठाँनेका छौँ ।

यसअर्थमा म तपाईहरूलाई भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूको सन्देश पनि भन्न चाहान्छु, कि सरकार यो ठाउँमा एयरपोर्ट बनाउनका लागि प्रतिबद्ध छ । त्यसकारणले, हामी त्यसलाई अगाडि बढाउनका लागि तपाईहरूको बीचमा आएका छौँ । तपाईहरुको साथ छ । हामी सबै मिलेर यो कामलाई अगाडि बढाउने छौँ ।

दोश्रो कुरा, पानी परेको छ, मौसम खराब छ, हामी फेरि फर्किनु पर्नेछ ।

सरकार अहिले आफ्ना कामहरू अगाडि बढाइरहेको छ । र सधै अस्थिरताको मात्र फाइदा लिएकाहरू, मुलुकको अव्यवस्थाबाट फाइदा लिएकाहरू, मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि जान नदिनेहरू आत्तिएका छन् ।

केही भएन, केही भएन भनेर कराइरहेका छन् । तर, म भन्न चाहन्छु, अहिले वर्तमान सरकार निर्माण भएपछाडि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रामा उल्लेख्य कामहरू भएका छन् । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, तीनटै सरकारको समन्वय, तीनटै सरकारको सञ्चालन, तीनटै सरकारको संगठनात्मक संगठन, तीनटै सरकारको कानुनी व्यवस्थाहरु यो सबै हामी बनाएर यी तीनटै सरकार जनताले निर्वा्चित गरेका सरकार हुन् । यी सरकारहरूले राष्ट्र र जनताको पक्षमा काम गरिरहेका छन् ।

परिणामहरू देखिइरहेका छन् । र अझै हामीले प्रभावकारी ढंगले काम गर्नुपर्नेछ । त्यसकारण म के भन्न चाहन्छु भने, काम भएको छैन, केही भएको छैन भनेर हल्ला गर्नेहरू छन् । म यति भन्न चाहन्छु, उनीहरू किन हल्ला गरिरहेका छन् भने यो सरकारले काम गरिरहेको छ । त्यसकारणले काम गरिरहेको छैन भनेर अफवाह फैलाउनका लागि हल्ला गरिरहेका छन् । त्यसकारण म भन्न चाहन्छु, यो ठाउँमा यही मध्य पहाडी राजमार्ग प्रभावकारी ढंगले काम भइरहेको छ ।

हामी यहाँ एअरपोर्ट बनाउँदै छौँ । देशभरिका एअरपोर्टहरूलाई सुधार गर्दैछौँ । अन्तरराष्ट्रिय विमानस्थलहरु निर्माण गरिरहेका छौँ । र सँगसँगै यो देशका ठूल्ठूला पूर्वाधारका.. चाहे जलविद्युत् होस्, चाहे रोजगारीका अरू कार्यक्रमहरू होस्, चाहे आर्थिक विकासको कुरा होस्, आर्थिक वृद्धिदर बढाउने कुरा होस वा उत्पादन बढाउने कुरा होस् । सबै क्षेत्रमा काम बढेको छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम बढेको छ । यस हिसाबबाट स्थानीय सरकारले पनि प्रभावकारी काम गरिरहेको छ । प्रदेश सरकारले गरेको छ । संघीय सरकारले गरेको छ । अब मुलुकको आर्थिक विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन । कसैका गफले रोक्न सक्दैन । कसैका अवरोधले रोक्न सक्दैन । त्यो दिशामा हामी अगाडि बढ्छौँ । यो सरकारको सन्देश हो । यो सरकारको प्रतिबद्धता हो ।