अनुमति विना डोजर चलाउने वडाध्यक्षलाई पोखरा महानगरले कारबाही गरेन

पोखरा, भदौ २८ ।
केही समयअघि पोरखा २५ हेमजाबार प्रहरीले टिपर र डोजरलाई नियन्त्रणमा लियो । अवैध रुपमा ढुंगा निकाल्दै गरेको भन्दै डोजरलाई ५० हजार र ढुंगा निकासी गर्ने टिपरलाई परिमाण हेरी जरिवाना लिईयो । अबैध रुपमा महानगरको क्षेत्रभित्र डोजर चलाउन पाईंदैन ।

मनपरी डोजर चलाउनेलाई महानगरले तत्कालै कारबाही गर्छ र जरिवाना समेत लिँदै आएको छ । तर वडा नम्बर २१ मा विना अनुमति सार्वजनिक बाटोलाई नै क्षति पुग्ने गरी घडेरी खार्ने डोजर धनीलाई कारबाही गर्न सकेको छैन । वडाध्यक्ष खगराज अधिकारीले नै डोजरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

‘प्रहरीलाई चावी बुझाएको हुँ । त्यसपछि महानगरलाई पनि आवश्यक कारबाहीका लागि जानकारी गराएको थिएँ, उनले भने–तर अहिलेसम्म कुनै कारबाही हुन सकेन ।’ शक्ति केन्द्रको डरले महानगरले कारबाही गर्न नसकेको उनको भनाई छ ।

‘सामान्य नागरिकको भए तत्कालै जरिवाना असुल्थ्यो । जनप्रतिनिधीको भनेर यसरी छोड्न मिल्दैन, उनले भने–कि दोषी होईन भन्नुपर्छ । नभए तत्काल कारबाही गरोस् ।’ मेयर मानबहादुर जिसी चाहीँ अवैध काम गर्नेलाई माफी नहुने बताउँछन् ।

डोजरको सबै कागजात मागेको भन्दै उनले अनुमति विना डोजर चलाउन नपाउने बताए । ‘अनुमति विना कसैले डोजर चलाउन पाउँदैन । जो भएपनि कारबाही गर्छु, उनले भने ।’ गएको २३ गते पोखरा २१ नाउडीमा अनुमति विना घडेरी खार्नका लागि १७ नम्बर वडाका अध्यक्ष तीर्थराज अधिकारीले डोजर पठाएका थिए ।