अधिकारी, प्रदेश ४ का निर्विरोध सभामुख
प्रकाश ढकाल
पोखरा, फागुन ३ ।
प्रदेश नम्बर ४ मा माओबादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्विरोध सभामुखमा निर्वाचित हुँदैछन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार मनोनयन गर्ने समय थियो । निर्धारित समयमा अधिकारीले मात्रै मनोनयन दर्ता गराएपछि उनी निर्विरोध निर्वाचित हुन लागेका हुन् । प्रदेशसभा सचिवालयले उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशित गरिसकेको छ । बुधबार विहान साढे १० बजेदेखि मध्यान्न साढे १२ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिएको थियो भने साढे १ बजे दिउँसो अन्तिम नामावली प्रकाशन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । एमालेको साथ पाएका अधिकारीलाई करिब दुई तिहाई मत छ । ६० सीट रहेको प्रदेश ४ मा एमालेको २७ र माओबादी केन्द्रको १२ सीट अधिकारीका मतदाता हुन् । १५ सीटे प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेशका कुनैपनि पदमा दावी गरेको छैन । काँग्रेसले फागुन ६ अघि संसदीय दलको नेता समेत नटुंग्याउने बुझिएको छ । सभामुखमा सर्बसम्मत हुन लागेका अधिकारी पर्वत प्रदेशसभा (क) बाट निर्वाचित भएका हुन् । माघ २२ गते बसेको प्रदेश ४ को पहिलो बैठकले विहिबारका लागि सभामुखको निर्वाचन मिति तोकेको थियो । जेष्ठ सदस्यले निर्वाचन बाहेकका सबै प्रक्रिया बैठक अघि नै तोक्ने निर्णय सुनाएका थिए । सोही अनुसार बुधबार मनोनयन दर्ता गरिएको हो ।
माओबादीको तर्फबाट संसदीय दलका नेता समेत रहेका सांसद हरिबहादुर चुमानको प्रश्तावना र एमाले प्रदेश ४ का संयोजक समेत रहेका अर्का सांसद किरण गुरुङको समर्थनमा अधिकारीले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । उनलाई विहिबार बस्ने बैठकले अनुमोदन गर्नेछ । त्यसपछि जेष्ठ सदस्यले निर्विरोध रुपमा निर्वाचित भएको घोषणा गर्नेछन् । सभामुख चयन भएपनि उनले विहिबारको बैठक चलाउन पाउने छैनन् । ‘सभामुखले पहिलो बैठकको रुपमा उपसभामुखको चुनावको अध्यक्षता गर्नुहुनेछ । फागुन ६ मा उपसभामुख चुन्ने मिति तय भैसकेको छ, प्रदेशसभा सचिवालयका उपसचिव गोपाल सिग्देलले भने–विहिबारको बैठक जेष्ठ सदस्यले थालेर वहाँले नै समापन गर्नुहुन्छ ।’ उनका अनुसार विहिबारको बैठक बढीमा २० मिनेट चल्नेछ । ‘बैठकका एजेण्डा खासै धेरै छैनन् । ३ वटा एजेण्डामा फटाफट निर्णय हुनेछ, उनी भन्छन्–अन्यथा नभए बढीमा २० मिनेट बैठक चल्छ ।’ विहिबार बस्ने बैठकको कार्यसूचीमा सभामुख चयन मुख्य एजेण्डा छ । यसबाहेक बैठकले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको नियुक्तीको पत्र पढेर सुनाउने र उपसभामुखको चुनावको मिति तय गर्नेछ । बैठकमा सभामुखको प्रश्तावक र समर्थकले समर्थन सहितको सम्बोधन गर्नेछन् । सभामुखको निर्वाचनका लागि विहिबार दिउँसो १ बजे प्रदेशसभाको दोश्रो बैठक बस्दैछ ।
यसैबीच, प्रदेश प्रमुखले मुख्यमन्त्री र सभामुखको शपथ एकैदिन गराउने भएका छन् । शुक्रबार विहान १० बजे प्रदेश प्रमुखको निवासमा शपथ गराउने कार्यक्रम रहेको प्रदेशप्रमुखको सचिवालयले जनाएको छ । बुधबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ भनिएपनि कान्छिआमाको निधनपछि दुईदिन पछि सारिएको हो ।