अचम्मको गाउँ-जहाँका किशोरी १५ बर्षमै आमा बन्छन्

प्रकाश ढकाल
(भुजेलगाउँ) तनहुँ, फागुन २६ ।
उमेर १८ । २ बर्षअघि बिहे । काखमा ६ महिनाकी छोरी । तनहूँ बन्दिपुर गाउँपालिका ५ भुजेल गाउँकी उषा भुजेलले १६ बर्ष नपुग्दै विहे गरिन् । ७ कक्षा पढ्दै गर्दा अल्छि मानेर पढाई छोडेकी उनलाई आमाबाबुले नै फकाएर विहे गरिदिए । यतिबेला उषा सुत्केरी खान माईतिमा छिन् । ‘उवेला पढ्ने जाँगर चलेन । मैसँग पढ्ने साथीहरु सबैले विहे गरिसके, उनी भन्छिन्–नपढेपछि आमाबाले विहे गर्दिनुभयो । अहिले छोरीको स्याहार गरेर बस्छु ।’


उमेर ३५ । १४ बर्षमा विहे । १५ बर्षमै बच्चा । आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ पञ्चेस्वाँराकी मीना भुजेलले २० बर्षअघि गाउँकै केटासँग भागेर विहे गरिन् । १५ बर्ष लाग्दैगर्दा विहे गरेकी उनले बर्षदिन नपुग्दै बच्चा जन्माईन् । मीनाका ७ वटा बच्चा छन् । ‘ठूली छोरी १९ बर्षकी हो । विहे गरेर पाउने भएकी छे, ७ महिनाकी काखे बच्चा देखाउँदै उनले भनिन्–सबैभन्दा कान्छी हो यो । २ बर्षकी अर्की छोरी पनि छ ।’ सबै बच्चा घरमै जन्मिएका उनी सुनाउँछिन् । ‘अहिलेसम्म अस्पताल देखेकै छैन । एउटा सुई पनि नलाईकन ७ वटा छोराछोरी हुर्काएँ, उनले अगाडी सुनाईन्–अचेलका मान्छे त अस्पताल गएर नकाटेसम्म बच्चा जन्माउन सक्दैनन् भन्ने सुन्छु । कुरा सुन्दा पनि अचम्म लाग्ने ।’


उमेर ४२ । १३ बर्षमा विहे । १४ वटा बच्चा । बन्दिपुर गाउँपालिकाकै भुजेल गाउँकी मैया भुजेलले १४ वटा बच्चा जन्माईन् । उनले जन्माएका ९ सन्तान मात्रै अहिले जिवित छन् । आफ्नै उमेर पनि भन्न नजान्ने मैयालाई छोराछोरी गन्न पनि गाह्रो पर्छ । ‘२ भाइ छोरा र ७ बैनी छोरी छन् । ५ बैनी छोरी जन्मेपछि मरे, अनकनाउँदै उनले भनिन्–बुढा अपाङ्ग छन् । घर चलाउन गाह्रो छ ।’ उनका जेठा छोरा नै ३० बर्षका भैसके । १३ बर्षकी नातिनी छिन् ।


बन्दीपुर ५ र आँबुखैरेनी १ नम्बर वडामा पर्ने भुजेल गाउँ । वारीपारी ६१ घरधुरी छन् । सबै घर भुजेलहरुको । पृथ्वी हाईवेको सत्रसय फाँटबाट ५ किलोमिटर कच्ची बाटो उत्तर लागेपछि पुगिन्छ भुजेल गाउँ । पुरुषहरु बाँस फुटाउँदै र महिला चाहीँ बालबच्चा छेउमा राखेर चित्रो बन्दै गरेको दृष्य । बाँससँग खेल्नु भुजेलहरुको पुख्र्यौली पेसा हो । त्यसैले यहाँका भुजेलहरु गाउँ छोडेर बाहिरिएका छैनन् । आँफैले बुनेका चित्रो बेच्न पनि बजार झर्ने झण्झटले गाउँबाटै ठेकेदारको जिम्मा लगाउँछन् । न अस्पताल, न शुद्ध पिउने पानी । २०४५ सालमा खुलेको एउटा कच्ची स्कुल छ, ५ कक्षासम्म पढाई हुने । यही स्कुलको पढाई पनि पूरा गर्दैनन् भुजेल गाउँका बालबालिकाहरु । मुश्कीलले ५ पास गरेकाहरु माथिल्लो कक्षा पढ्न याम्पाफाँट झर्छन् । ६-७ कक्षा पढ्दैगर्दा सबैजसोले पढाई छोडिसक्छन् ।
बालबच्चालाई स्कुलको बानी पार्न निकै सकस हुने आँधी बाराही आधारभुत स्कुलकी शिक्षिका पम्फा लामिछाने बताउँछिन् । ‘यो बर्ष ७५ जना भर्ना भएका हुन् । ४५ जना पनि स्कुल आउँदैनन्, उनले भनिन्–एसेम्ब्ली अगाडी विद्यार्थी लिन हामी आँफै घरघरै पुग्छौं । हामी गएको थाहा पाए भने घरै छोडेर भाग्छन् । छड्केमा भेटेका जति सोरेर ल्याउने हो ।’ सामाजिक संस्कार र शैक्षिक चेतनाको अभावले बालबालिका पढ्न भन्दा विहे गरेर घरजम गर्न बढी रुचाउने उनको अनुभव छ । ‘मैले सुरुमा पढाएका विद्यार्थीहरुको विहे भएर बालबच्चा स्कुल आउन थालिसके । सानै उमेरमा विहे गर्नु उनीहरुको सामाजिक संस्कार हो, लामिछाने भन्छिन्–बच्चैमा विहे नगर्नुस् भनेर कयौं पटक सम्झाछौं तर मान्दैनन् । १३ बर्ष लागेपछि छोरीका विहेका कुरा हुन थाल्छन्, हामी टुलुटुल हेरेर बस्ने हो ।’
भुजेल गाउँमा पढेका र सचेत मान्छे भेट्न साह्रो मुश्किल पर्छ । त्यसो त यहाँको आर्थिक अवस्था पनि दयनिय नै छ । गाउँभरीमा एउटी मात्रै किशोरीले १० कक्षा पास गरेकी छिन् । १९ बर्षिय रक्षा भुजेल एक्ली हुन्, जो ११ कक्षा पढ्दैछिन् र विहे पनि गरेकी छैनन् । एसएलसी पास गरेका पुरुष चाहीँ ४ जना छन् । ‘गाउँमा बुझ्ने मान्छे छैनन् । अलिअलि बुझेकाहरु पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने हेक्का राख्दैनन्, रक्षा भन्छिन्–पढ्ने पढाउने संस्कार त छँदै छैन । सानो उमेरमा विहे गर्नुहुन्न भनेर सम्झाउँदा त उल्टै गाली पो गर्छन् ।’ चेतना र आर्थिक अवस्थाका कारण गाउँको अवस्था विग्रिएको उनले सुनाईन् । ‘कसैकसैले छोरी बुढीकन्य हुने भई भनेर आमाबाबुको कान फुक्छन् । तर घरबाट मलाई चाहीँ बिहे गर्नुपर्ने दवाव छैन, रक्षाले भनिन्–मेरा उमेरका सबै साथीहरुको विहे भैसक्यो । मलाई चाहीँ विहे नगरी आमाबाबुको सेवा गर्ने र गाउँको कल्चर बदल्ने मन छ ।’ अघिल्लो साल एसईई सकेकी उनी सत्रसय स्थित मितत्रा क्याम्पसको ११ कक्षामा नेपाली बिषय पढिरहेकी छिन् ।
यहाँका किशोरीहरु १५ बर्ष नपुग्दै बिबाह गरिसक्छन् । कलिलैमा विवाह गर्नु पहिले बाध्यता भएपनि अहिले चाहीँ विकृतिको रुपमा विस्तार भएको भुजेल गाउँका अगुवा ज्ञानबहादुर भुजेल बताउँछन् । ‘बाबुबाजेले चलाएका चलन हुन् सानैमा विहे गर्ने । उवेला बाध्यता थियो, हामीले नि त्यसै ग¥यौं, ठट्यौली पारामा उनले भने–अचेलका नानीहरुलाई अलिअलि पढायो मोवाईल खेलाउन पो सजिलो । मोवाईलबाटै जोडी खोज्छन् । हाम्लाई भन्दै नभनी पोईल भाग्छन् ।’ वितेका ५ बर्षयता फेसबुकमा जोडी खोजेर विहे गर्ने ९० प्रतिशत बालिकाहरु छन् । मोवाईलको विकास भएपछि मागी विवाहको दर समेत घटेको उनले सुनाए । पढ्ने र हाँसखेल गरेर हिड्ने उमेरमा यहाँका नानीहरुको काखभरी बच्चा छन् । नेपालको संविधानले २० बर्षअघि विहे गर्न प्रतिबन्ध लगाएको छ । तर भुजेलगाउँका नानीहरु २० बर्षसम्म २/३ वटा बच्चाकी आमा भैसक्छन् । यसबारे सरकारी र सरोकारवाला निकायको समेत ध्यान पुग्न नसकेको भुजेल समाज सेवा समिति नेपालका अध्यक्ष लोकबहादुर भुजेलले बताए ।