अघिअघि टाँस्दै पछिपछि च्यात्दै, निर्मलाको न्यायका लागि पोष्टर टाँस्न लाग्दा पोखरामा प्रहरी हस्तक्षेप

पोखरा, मंसिर १५ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिलाउन नसकेको भन्दै पोखरामा निर्मला पन्तको तस्बिर अंकित पोस्टर टाँस्दा प्रहरीले हस्तक्षेप गरेको छ । निर्मलाका निम्ति न्यायका सामाजिक अभियन्ताहरूले पोखराको मानवअधिकार चोकदेखि महेन्द्रपुलसम्म पोस्टर टाँस्दै जाँदा प्रहरीले हस्तक्षेप गरेको हो ।

शान्तिपूर्ण रुपमा पोष्टर टाँसेपनि प्रहरीले हस्तक्षेप गरेको अभियान्ता सौगात पोखरेलले बताए । ‘सरकारले आफ्नो प्रचारका लागि पोलपोलमा पोष्टर टाँस्न हुने नागरिकले न्यायको माग गर्न किन नहुने ?, उनले भने–हामी टाँस्दै गयौं, प्रहरीले उप्काउँदै गयो । पछि हामीसँग भएको पोष्टर पनि लग्यो । पोष्टर दिन नमानेपछि केहीबेर झडपजस्तै भयो ।’अभियान्ताहरू सडकमै बसेर केहीबेर नाराजुलुस गरेका थिए । अब भावी कार्यक्रम कसरी गर्ने भन्नेबारे छलफल गर्ने उनले बताए । निर्मला पन्तको न्यायका लागि देशैभरी प्रदर्शन जारी छ । पोखरामा पनि युवाहरुले सशक्त कार्यक्रम गरिरहेका छन् ।