सार्वजनिक जग्गा मिचेर वाटरफ्रण्ट रिसोर्ट, फेवाको मापदण्ड पनि मानेन

पोखरा, असार १९ ।
निकै चर्चामा आएको पोखराको फेवा किनार स्थित वाटर फ्रण्ट रिसोर्ट सार्वजनिक (पर्ति) जग्गामा निर्माण भएको पाईएको छ । छानबिन समूहले गरेको अध्ययनले ५ सय ५३ बर्गमिटर क्षेत्रफल सार्वजनिक जग्गामा पर्ने निष्कर्ष निकालेको हो ।

सुनील शाक्य स्वामित्वको यो रिसोर्टले फेवातालको ६५ मिटर मापदण्ड पनि पालना गरेको छैन । साबिक ग्यारजाती वडा नम्बर १ को कित्ता नम्बर १७३ र १७४ का साथै ग्यारजाती वडा नम्बर ५ मा २८५, २८९, ३०२, ३०४, ३०५, ९०९, ९१०, ९११, ९१५, ९१६, ९१७ र १३०७ नम्बर कित्तामा सो रिसोर्टका संरचना छन् । त्यसमध्ये वडा नम्बर १ को १७३, वडा नम्बर ५ को ३०४ र ३०५ नम्बरको कित्ता पर्ती जग्गा रहेको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालिसम्बन्धी जाँचबुझ समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारी नापी टोलीले गरेको नापजाँचको क्रममा रिसोर्टको मूल संरचनाबाहेकका अधिकांश संरचना तालको ६५ मिटरभित्र रहेको भेटिएको छ । स्विमिङ पुल, पानी शुद्धीकरण गर्ने भनिएको ट्यांक, शौचालय, ट्रस, बगैँचा, गाडी पार्किङस्थल, मूलगेट र पालेघरलगायत संरचना ताल मापदण्डभित्र रहेको प्रतिवेदनले औँल्याएको छ ।

गत २१ र २२ जेठमा पोखरा महानगर वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापा, पोखरा उपत्यका नगर विकास समितिका ईञ्जिनियर सुरेन्द्र सिग्देलसहित स्थानीय पर्यटन व्यवसायीको रोहवरमा सर्वेक्षण गरिएको हो ।