सामाजिक परिचालकमाथी प्रहरीको लाठी (भिडियो)

पोखरा, भदौ १४ ।
गण्डकी प्रदेशका सामाजिक परिचालकमाथी बुधबार प्रहरीले हस्तक्षेप गर्दा ३ जना सामाजिक परिचालक घाईते भएका छन् । पुर्नवहालीको माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथी मुख्यमन्त्रीको कार्यालय प्रवेशद्धार मै लाठीचार्ज गरिएको हो । प्रहरी लाठी र बुटले हानेको सामाजिक परिचालकहरुले बताएका छन् । प्रहरी कुटाईबाट सामाजिक परिचालक संघ गण्डकीकी सचिव भावना श्रेष्ठ, कास्कीकी संगीता भण्डारी र पर्वतकी सचिनाकुमारी शर्मा बढी घाईते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेकोले गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

‘सँधैझैं नाराबाजी गर्दै मुख्यमन्त्रीको कार्यालय छिर्ने निषेधीत क्षेत्र बाहिर बसेर नारा लगाउन थाल्यौं । सुरुमै प्रहरीहरु हामीमाथी बर्सिए, सामाजिक परिचालक कमला खनालले भनिन्–जागिरबाट निकालेर बेरोजगार बनाउने अनि माग राख्दा उल्टै प्रहरी लगाएर पिटाउने यो कस्तो सरकार हो ? हामी अन्यायमा प¥यौं भन्न पनि नपाउने ?’

हालसम्म तीनपटक प्रहरीसँग झडप भैसकेको छ, सामाजिक परिचालकहरुको । उनीहरुको माग सुनुवाई गर्ने बिषयमा कोही पनि गम्भीर देखिएका छैनन् । आफुँहरुमाथी हमला भएको जानकारी पटक पटक मानवअधिकार आयोग र इन्सेकमा दिएपनि वास्ता नगरेको सामाजिक परिचालकहरुको आरोप छ । ‘मानवअधिकार र इन्सेक केका लागि ? कति पटक पत्रै दिएर अमानवीय ब्यवहार भएको जानकारी गराएका छौं, उनीहरुले भने–अहिलेसम्म फर्केर पनि हेरेका छैनन् । हाम्रो मानवअधिकार हनन् भयो ।’

प्रदेश सरकारका प्रबक्ता रामशरण बस्नेत चाहीँ आफ्नो क्षेत्राधिकार भित्र नरहेको बताउँछन् । ‘स्थानीय तहले राख्ने हो । प्रदेश सरकारले अहिले केही गर्न सक्दैन, उनले भने–वहाँहरुको आन्दोलनबारे आधिकारीक जानकारी पनि आएको छैन ।’

स्थानीय सरकारहरुले आफुँहरुसँग आवश्यक आर्थिक श्रोत नभएको भन्दै सामाजिक परिचालकलाई राख्न नसक्ने बताएका छन् । चालू बर्षदेखि सरकारले स्थानीय सरकारलाई स्वामित्व हस्तान्तरण गर्दै सामाजिक परिचालकलाई जागिरबाट हटाएको हो । उनीहरु लगातार आन्दोलनमा छन् ।