रोकिराखेको बसमा ट्रक ठोक्कियो, घटनास्थलमै तीनको मृत्यु
सर्लाही, माघ ५ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगल खण्डमा शनिबार बिहान रोकिराखेको रात्रि बसलाई ट्रकले ठक्कर दिँदा तीन यात्रुको मृत्यु भएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार काठमाडौंबाट इलामको पशुपितनगरका लागि जाँदै गरेको ना ४ ख ९७५४ नम्बरको बसला बिग्रिएपछि बाटोमा रोकेर राखिएको थियो ।
त्यस क्रममा पूर्वैतर्फ जाँदै गरेको ना ५ ख ७१२९ नम्बरको ट्रकले बिहान २ बजे उक्त बसलाई पछाडिबाट ठक्कर दिएको हो । उक्त दुर्घटनामा परी बसका यात्रु इलामको सलुबुलुमका २७ वर्षीय गोविन्द साउदेन र सुनसरी इटहरी उपमहानगरपालिका–१६ की ३० वर्षीया विनेता राई तथा र पर्साको वीरगंज उपमहानगरपालिका–१९ का ३५ वर्षीय रहिम मियाँको मृत्यु भएको सर्लाही जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैगरी दुर्घटनामा बसका यात्रु नुवाकोटको विदुर नगरपालिका–१३ का २७ वर्षीय दावा तामाङ, बसका चालक झापाको अर्जुनधारा नगरपालिका–६ का ३५ वर्षीय राजेन्द्र खड्का र सहचालक उदयपुरको कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकार घाइते भएका छन् । खुट्टा भाँचिएका तामाङको उपचार ललितपुरस्थित बी एन्ड बी अस्पतालमा, खड्काको बिर्तामोडमा र अधिकारीको सर्लाहीकै लालबन्दीमा उपचार भइरहेको छ ।
मृतकका शव सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका बस र ट्रक फूलजोर प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ ।