‘मेलमिलापको कुरा लिएर नेपाल आउँदा सुवर्णसमसेरले पार्टीबाट निष्कासन गरिदिए, सरकारले जेलमा थुन्यो’
पोखरा, पुस १६ ।
पाँच बर्ष पहिले म र मेरा साथीहरु यहाँ फर्केका हौं, तपाईंहरुलाई थाहा छ । त्यो फर्किनुभन्दा पहिले हामीहरुले धेरै छलफल गर्यौं राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिहरुको धेरै मूल्यांकन गर्यौं, धेरै विश्लेषण गर्यौं । किनभने, त्यो त्यत्रो ठूलो सशस्त्र क्रान्तिको आह्वान गरेर, त्यत्रा काण्डहरु घटित भइसकेपछि नेपाल फर्किनु भनेको बडो ठूलो खतरा र दुस्साहसको कुरा थियो । त्यसो हुनाले, त्यो त्यसै खेलाँची खेलाँचीमा कोही मान्छेले त्यस्तो दुस्साहसको कदम उठाउन सक्दैनथ्यो । हामीहरुले, त्यसकारणले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिहरुको बडो सूक्ष्म विवेचना गर्यौं । त्यसो गर्दा हामीहरु ३–४ वटा नतिजामा पुग्यौं ।
एक नतिजामा के पुग्यौं भने, १ पुसका दिन पर्व घटित भयो, त्यसबाट यसरी देख्ता त प्रजातन्त्रको हत्या भयो । सवैको भनाई थियो, प्रजातन्त्रको विरुवा जो थियो त्यसदिन नोचियो । अर्को कुरो कसैको ध्यानमा थिएन । साँच्चै भन्ने हो भने, हामीहरुको पनि ध्यानमा थिएन । महाराजधिराजको ध्यानमा त पटक्कै थिएन । महाराजधिराजको ध्यानमा त आजसम्म पनि छ कि छैन, मलाई थाहा छैन । परिस्थितिको विवेचना गर्दा हामीले के पायौं भने, त्यसकाण्डले केवल महाराजधिराजलाई पहिलेको श्री ३ मात्रै बनाएन, एउटा स्वेच्छाचारी शासक मात्रै बनाएन, त्यसले प्रजातन्त्रलाई समाप्त मात्रै पारेन कि त्यसले विदेशीहरुलाई बडो ठूलो अवसर दियो, यहाँको राजनीतिमा सक्रिय भूमिका खेल्न ।
जसको परिणाम स्वरुप विदेशीहरु एउटा ठूलो शक्तिको रुपमा यहाँ विकसित हुन पाए । प्रजातन्त्रले उनीहरुलाई बाधा उपस्थित गरेको थियो । विदेशीहरुको घुसपैठलाई बाधा उपस्थित गरेको थियो । राजालाई केवल यति मात्रै लागेको थियो कि उनको स्वेच्छाचारितामा बाधा पुग्यो । उनीलाई भन्दा पनि ठूलो बाधा त विदेशीहरुलाई परेको थियो । विदेशीहरु घुसपैठ गर्न खोजिरहेका थिए । त्यो समाप्त भएपछि–प्रजातन्त्र र जनताको राजनीति समाप्त भएपछि–यी विदेशीहरुको राजनीतिले मौका पायो । त्यो हामीलाई, राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिहरुको विवेचना गर्दा झल्याँस्स भयो ।
त्यस विवेचनाबाट हामी यस परिणाममा आयौं कि यो सोह्र–सत्र बर्षको अवधिमा एउटो तत्वमात्रै लाभान्तिव भएछ, त्यो विदेशी तत्व । राजा भन्ने तत्व पनि गौण भएर जाने रहेछ, प्रजा त थिचिएका थिचिएकै थिए । त्यो निष्कर्षमा हामीहरु पुग्यौं आफ्नो विश्लेषणबाट । र हामीले आउँदा बाँडेको पर्चामा तपाईंहरुले त्यो विश्लेषण पाउनु हुनेछ । त्यसबखत म आउनुभन्दा अघि धेरै टेपहरु गरेर नेपालभित्र पठाएको थिएँ, त्यसमा तपाईंहरुले पाउनु हुनेछ । मैले भनेको यो कुरा कि हाम्रो यो भू–भाग एउटा अशान्तिको क्षेत्र भयो । त्यसका धेरै कारणहरु छन्, जो ऐल्े भन्नुपर्ने आवश्यक्ता म ठान्दिन । ती सबैमा मैले त्यसका कारणहरु बताईसकेको छु ।
त्यसबखतमा मैले यस भू–भागलाई अशान्तिको क्षेत्र भन्दा मानिसहरु छक्क पर्थे । किनभने, त्यसबखतमा राजाको स्थिति विदेशमा एकदम बलियो देखिन्थ्यो । यति बलियो भएको उनलाई महसुस भएको थियो कि यो नासो जो उनले केही दिनको लागि लिएका थिए फर्काए र म अव प्रजासँग सल्लाह लिएर संविधानको संशोधन गर्छु भनिकन संविधान सुधार आयोग ठाउँठाउँमा पठाए । त्यस आयोगले पनि, राजाको शब्दलाई नै ठीक हो भनेर उनको भित्रको मर्मलाई नबुझेर, ठाउँठाउँमा जनतासँग सल्लाह लिन थाल्यो, त्यो तपाईंहरुलाई थाहा होला ।
किनभने, त्यति म बलियो भएँ भनेर राजालाई लागेको थियो । हिन्दुस्तानमा हामीहरु आउनेताका, इन्दिरा गान्धी एकदम बलिई थिइन् । उनले संकटकालीन शासन लागू गरेकी थिइन् । कल्पना नै कसैले गर्न सकेको थिएन उनी सत्ताबाट बाहिर जान्छिन भनेर । यहाँ म आउँदासम्म त त्यो असम्भवको कुरा जस्तो लाग्दथ्यो । पाकिस्तानमा त्यसबखत पाकिस्तानको इतिहासमै सबभन्दा लोकप्रिय जनताबाट निर्वाचित राष्ट्रपति पदमा जुल्फिकार अलि भुट्टो थियो । त्यो त्यसरी सबभन्दा स्थिर भएर बसेको थियो । अफगानस्थानमा राजा त हटिसकेका थिए, दाउद खाँ राष्ट्रपति भएर शासन चलाईरहेको थियो र त्यसलाई त्यहाँ पनि सबभन्दा बलियो भनेर, सारा विदेशी शक्तिहरुले सहायताको खोलो बगाईरहेका थिए । त्यो त्यस्तो स्थिर भएर बसेको थियो ।
श्रीलंकामा श्रीमति भन्डारानाइके थिईन् । तपाईंहरु कसैले कल्पना गर्नुभएको थियो कि भन्डारानाइकेले हार्लिन् र एउटा अर्को ब्यवस्था पनि आउला ? संसदीय ब्यवस्थाको साटोमा राष्ट्रपति ब्यवस्था आउला भनेर ? कसैले त्यो कल्पना गर्न सकेको थिएन । त्यसबखतमा मैले भनेको थिएँ, हाम्रो क्षेत्र अशान्तिको क्षेत्र हुन थाल्यो भनेर । शीतयुद्धको एउटा ठूलो केन्द्र हुन आँट्यो भनेर । राजा अव अशक्त भए । मैले अंग्रेजीमा भनेको छु–राजाको राष्ट्रिय र अन्तराष्ट्रिय मेन्युभेलरविलिटी सकियो । किनभने, शीतयुद्धको परिप्रेक्ष्यमा चलाखीको राजनीति चल्न सक्दैन । भित्रपनि, विकास हुन नसकेर, जनताका आकांक्षाहरु पूरा हुन नसकेर केवल ५–७ जना मानिसहरुलाई म्युजिकल चेयरमा कहिल्यै एउटा प्रधानमन्त्री र कहिले अर्कोलाई प्रधानमन्त्री राखेर पनि त्यो चल्न सक्दैनथ्यो ।
त्यसो हुनाले मैले भनेको थिएँ, महाराजधिराजको षमता पनि धेरै सीमित भइसकेको छ । त्यस्तो अवस्थामा जव विदेशीहरुको घुसपैठ अत्यन्त बढेको छ । जव यहाँ एउटा अशान्तिको लहरबाट यो भू–भाग जाने भएको छ, हामहिरुको के कर्तब्य हो ? यसको विश्लेषण गरेको भए तपाईंहरुको के कर्तब्य हुन्थ्यो ? हामीहरुले भन्यौं, हामीहरुले अव जसरी पनि जानुपर्छ ।
मैले त्यसको खतराको कुरा पनि भनेको हुँ । राजाले हामीलाई सय चोटी मार्न सक्थे । अर्थात् हामीलाई सयजना आठपहरिया लगाएर सय चोटी गोली हान्न लगाउन सक्थे, तर त्यसले देशको समस्याको समाधान हुँदैन, झन् चर्किन्छ । मलाई मारेर चर्किने भनेको होईन । राजालाई समस्याको समाधान चाहिएको छ । जुन पञ्चायति ब्यवस्था स्थापित राजाले गरे, त्यो पञ्चायति ब्यवस्था केवल जनताको घाँटीमा मात्रै एउटा पासो भएन र फन्दा भएन । त्यो त राजाको लागि पनि फन्दा भयो । त्यसो हुनाले, यस अवसरमा राजाले पनि महसुस गरेको हुनुपर्छ । हामीहरुले अव फर्केर जानुपर्छ । मैले भनेको त्यो कुरा तपाईंहरु धेरैले पढ्नुभएको होला ।
हामीहरु आयौं । पुस १ गतेको सवभन्दा घातक परिणाम विदेशीहरुको घुसपैठ जो भएको छ, त्यसलाई प्रत्यक्ष प्रमाणित गर्दै म आउँदाखेरि, म यहाँ आइसकेपछि र आजसम्म ममाथी आक्रमण त्यै तत्वबाट भैरहेको छ । राजा र प्रजामा मेल भएर फेरि प्रजातन्त्र पुनस्र्थापित हुँदा ज–जसलाई खतरा पर्छ, त्यो विदेशी तत्वलाई, तिनिहरुको आक्रमण त्यस दिनदेखि प्रारम्भ भएको छ । म जव समातिएँ, जेलमा छँदा यो बडो दुर्भाग्यको कुरा मानिसले नबुझेर, मेरा सहयोगी जो हुन सक्थे, उनले पनि नबुझेर सुवर्ण शमसेरजीले मलाई र गणेशमानजीलाई निष्कासित गर्नुभयो पार्टीबाट, हामीहरुले बनारस छोडेर काठमाण्डौं आयौं भनेर ।
कहाँ त हामीलाई संरक्षण वहाँले प्रदान गर्नुपर्ने, त्यसको सट्टा वहाँले हामीहरुमाथी अनुशासनको कारबाही गरेर पार्टीबाट हामीलाई निष्काशन गरिदिनुभयो । एउटा छानो त होला भनेको, त्यो छानो पनि झिकिदिनुभयो । अनि, वहाँका जेनरल सेक्रेटरी उहीँ बसेका थिए, परशुनारायण चौधरी । मेरो पनि पछिका जेनरल सेक्रेटरी, यीनले सबैलाई भनि–भनिकन हिँडे । वीपिलाई लिन जान्छौं भने त्यो पार्टीको विरुद्धमा एउटा कारबाही मानिनेछ । पञ्चायतले अव त म विदेशीहरुको हथकण्डा भन्न थालेको छु, पञ्चायतलाई उनीहरुका दलालहरु मण्डलेका नाउँमा पुगेका छन् र ठाउँ–ठाउँमा मेरो उग्र विरोध गराएका छन् ।
म यहाँ आइपुग्दाखेरि जुन किसिमको ताण्डव नृत्य उनीहरुले गरे, पुलिसको संरक्षणमा । जुन किसिमबाट हाम्रा साहसी साथीहरु हामीलाई स्वागत गर्न भनेर पुगेका थिए । त्यसमा महिला वर्गहरुमाथी समेत तिनिीहरुले जस्तो कारबाही गरे, त्यसमा राजादेखि लिएर साराले टाउको झुकाउनुपर्छ । त्यस किसिमको कारबाही भएको छ र त्यसको पछाडी को थियो ?
त्यति मात्र होइन, मलाई लाग्दछ त्यसको पछि विदेशी तत्व थियो । यहाँका यथास्थितिवादीहरुको गठबन्धन विदेशीहरुसँग छ । तिनिहरुले त्यो कुरा गराएका थिए, म आएपछि । त्यसपछि मलाई थुनेर राखे सुन्दरीजल जेलमा । मलाई लाग्यो, उही पूरानो मैले लगाएको कपुरको रुख । म आठबर्ष थुनामा रहँदा जुन पलङ्ग थियो, त्यै पलङ्ग ल्याए त्यै कोठामा । बिछ्यौना नयाँ ल्याए, त्यै ठाउँमा राखे । आउने वित्तिकै त्यहाँ पुगेको आधा घण्टाभित्रै अञ्चलाधिस, जनसम्पर्क अधिकारी, पुलिसको एउटा एसपी र अरु को को मलाई लाग्दछ, मिलिटरिका पनि होलान्, तिनिहरुले आएर मसँग बयान लिए टेप गरिकन । त्यसमा मैले त्यै कुरा भनें, जो त्यसदिन भएको वक्तब्यमा मैले भनेको थिएँ ।
म थुनिएपछि अनवरत किसिमसँग मलाई आक्रमण भएको छ । पहिले त पञ्चहरुबाट भयो । पञ्चायतका तीन तह क्यारा । हरेक तहका पञ्चायतहरुबाटै यो मान्छेलाई सबभन्दा कडा सजाएँ दिनुपर्छ, देशद्रोहको नै भनेर प्रश्ताव पास गरे । २–४ वटा सम्मानित अपवाद बाहेक प्रायः सबैले त्यो भने । तिनताका पञ्चभेलाहरु हुने गर्थे । पञ्चभेलामा, अहिलेका प्रधानमन्त्री सूर्यबहादुर थापाले प्रश्ताव ल्याएका छन्, धनकुटामा मलाई मृत्युदण्ड होस् भनेर ।
उनीहरु त पञ्च थिए, म राजासँग मेल हुनुपर्छ भनेर आउँदाखेरि त उनीहरु खुशी हुनुपर्ने । यसकारण खुशी हुनुपर्ने कि अन्ततोगत्वा यो त ठीक बाटोमा आयो भनेर । तर मेल भनेको राष्ट्रिय एकताको कुरा त उनीहरुलाई हि तगर्दैनथ्यो । हामीहरु फर्केर आउँदा, पञ्चायत यथार्थमा राष्ट्रिय आधारम ाबनेको तत्व भए, त्यो त खुशी हुने थियो । त्यो नभएर, पञ्चायतबाट त्यति ठूलो मेरा खिलाफ प्रदर्शन र मेरो विरुद्धमा कारबाही होस् भनेर प्रदर्शन गर्न त सक्दैनथ्यो ।
त्यसपछि, भनौ अरु नेतागणहरु, मेरा मित्रहरु, उनीहरुको बक्तब्य निस्किन थाल्यो । उनीहरुले पनि भन्न थाले–यी अहमवादी, यी विदेशवादी, भारतबाट पठाईएको, इन्दिरा गान्धीले त्यहाँ बस्न दिएनन्, त्यसो हुनाले आएको, यावत यावत कुराहरु । म तपाईंहरुसँग सोध्न चाहान्छु–कुनै एउटा ब्यक्तिको नाम दिनुस्, जसले मलाई समर्थन गर्यो, मेरो कदमलाई वा मेलमिलापको कदमलाई । कुन पेपरले मलाई समर्थन गर्यो ? राजासँग मेलमिलाप गर्नुपर्छ भन्दाखेरि राजावादीले त समर्थन गर्नुपर्ने नि । यत्रो ठूलो विद्रोहीले भेल हुनुपर्छ भन्यो । कसैले समर्थन गरेन । किनभने, तिनिहरु त राष्ट्रिय भावनाबाट प्ररित तत्व नै थिएनन् । चोट त तिनिहरुलाई परिरहेको थियो ।
कथमकदाचित राजासँग मेल भएर देशमा फेरि प्रजातन्त्र आयो भने यो सजिलो वातावरण जो प्राप्त छ यथास्थितिवादी विदेशी तत्वको घुसपैठ भयो भनेको त यो होइन कि यहाँ रुसको जनरल आएको छ वा आएर पञ्चायतमा बसेको छ । वा भारतको वा अरु कुनै देशको । घुसपैठ भनेको त्यो होइन । यहीँका मान्छेहरुको मार्फत उनीहरुको घुसपैठ भएको छ । त्यसो हुनाले, तिनिहरुलाई मर्का पर्यो र आजसम्म तिनिहरुलाई त्यै मर्का परेको छ । त्यसो हुनाले, मैले भनेका कुरालाई बंग्याउने, जनतासम्म मेरो आवाज नपुगोस भनेर, जवदेखि म आएँ, आजसम्म त्यो चलिरहेको छ ।
एकापट्टी त यो पक्ष भयो । अर्कोपट्टी अर्को पक्ष छ हामीहरुले विश्लेषण गरेको सही छ कि छैन भन्ने पक्ष । अशान्तिको क्षेत्र भयो कि भएन भन्ने मैले भनिरहनुपर्ने कुरा भएन । म आएपछि जति उथलपुथल भए प्रजातन्त्रको पक्षमा, त्यसलाई मोड दिने बडो कोशिश भयो, विदेशीबाट । बडो ठूलो कोसिस के हुन थाल्इो भने, कहीँ साँच्चै नै राजा र प्रजाको मेल त हुँदैन भन्ने भय भएर देशमा आन्दोलनहरु गर्ने कोशिस भयो । विद्यार्थी आन्दोलनको महत्वलाई म घटाउन चाहान्न, तर विद्यार्थी आन्दोलन भनेको विद्यार्थी आन्दोलन नै हो भन्ने म आज पनि भन्दिन । मैले त्यस बखतमा पनि भनिन, अहिले पनि म भन्दिन । विद्यार्थी आन्दोलन चलाउने मान्छेको मुखमा त कालो दलेर हिँडाइ दिएको छ । चलाएको त त्यस तत्वले रहेछ, जसले विद्यार्थी आन्दोलनको नेतृत्व लिएर सरकारलाई झुकाएर, आफ्ना साराका सारा माग पूरा गराउने लिडरको मुखमा कालो पोतेर पठाइदिन सक्दो रहेछ, त्यसले चलाएको रहेछ विद्यार्थी आन्दोलन ।
विद्यार्थी आन्दोलन त त्यसले चलाएको रहेछ, जसले विष्टलाई हटाएर सुर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउन चाहेको रहेछ । त्यसले त्यो विद्यार्थी आन्दोलन चलाएको रहेछ । त्यस आन्दोलनले राजालाई औंलो ठड्याएको थियो कि, तिमी राष्ट्रिय मेलमिलाप गरेर, सम्झौता गर्यौ भने खवरदार । यो हुल हामीहरु फेरि फुक्का गर्न सक्छौं भनेर औंला ठड्याएको थियो र राजालाई एक किसिमबाट तर्साउने प्रयत्न भएको थियो । त्यसपछि, राजाबाट जनमत संग्रह सम्पन्न भयो । अरु के के भयो, एउटा प्रक्रिया सम्पन्न भयो ।
यसबीचमा एकापट्टी त विदेशीहरुको एजेण्टहरु मार्फत भएका षड्यन्त्रको मैले चर्चा गरें । तर के नेपालमा राष्ट्रिय भावना वा प्रजातान्त्रिक भावना छैन त ? भन्ने कुरा गरौं भने, मैले त्यत्रो ठूलो हतियार उठाएर आन्दोलन गरेको ब्यक्ति आज तपाईंहरुको अगाडी यसरी बोल्न पाईरहेको छु । त्यत्रो ठूलो, मेला खिलाफमा षड्यन्त्र हुँदाहुँदै पनि त्यसको आधार के हो ? म माथी मुद्धा लगाए । सातवटा राज्यद्रोहका मुद्धाहरु । कुनैमा पनि म हारेको खण्डमा प्राणदण्ड वा बीसबर्षको कैद हुने मुद्धाहरु लगाए । त्यसमा जुन आधारमा हामीहरु फर्केका थियौं, यहाँको परिस्थितिको विश्लेषण गरे, त्यै आधार, त्यै आफुले गरेको विश्लेषण माथीको आस्थामा, मैले आफ्नो प्रतिरक्षा गरेको छु त्यहाँ ।
त्यहाँ राजालाई मैले मौका दिइन मलाई माफी दिने । मैले भनिन कि हामीहरुले गलत काम गरेका हौं । त्यो तपाईंहरुले मेरो बयान पढ्नु भएको होला । त्यसमा मैले कहीँ पनि गलत काम गरेको छैन । त्यसमा मेरो जिकिरको पहिलो बुँदा नै छ, जुन जनताको अधिकारको अपहरण हुन्छ, त्यो जनताको नैसर्गिक अधिकार छ जुन तरिकाबाट पनि त्यो अत्याचारी शासनलाई समाप्त गरोस्, बन्दुक उठाएर पनि । क्रान्तिको मैले त्यहाँ प्रतिपादन गरेको छु । त्यै नियमको मुताविक हामीले २००७ सालको क्रान्ति गरेका हौं ।
मलाई सोधेका थिए, राजा मान्छौ कि मान्छैनौ ? अदालतले मलाई त्यो सोध्यो । मैले अदालतलाई भनैं–कस्तो राजा ? नेपालमा नेपालको इतिहासमा धेरै राजाहरु भएका छन् । थुनिएका राजनहरु पनि छन्, राणाले थुनेर राखेका राजाहरु पनि छन् । एकचोटी त दुईवटा राजाहरु थिए । एउटा कस्तो राजा भने त्यसको न जमिन छ, न सेना छ, न क्यै छ । त्यो विदेशमा शरण लिईरहेको राजा छ र यहाँ पल्टन भएको राजा छ, टक काटिन्छ जसको नाउँमा, जसको वफादारीको शपथ सारा अफिसरले लिन्छन्, जसको भू–भाग छ, जसको शासन छ, जसले कानुन बनाएको चल्दछ, त्यो राजा यहाँ छ र एउटा भगोडा राजा छ ।
कस्तो राजा तपाईंले भनेको ? त्यो मलाई मभनिकन राजतन्त्रको नाउँमा, अहिले जो अनुत्तरदायी यो पञ्चायत ब्यवस्था छ, त्यस्तो हामीलाई स्विकार्य छैन र भागेको राजा, यदी जनताको समर्थन नपाएको भए इतिहासका धेरै राजाहरु अहिले लण्डनमा छन्, धेरै राजाहरु पेरिसमा छन्, सायद हामी त्रिभुवन पनि त्यस्तै राजा हुने थिए । मैले त्यसो हुनाले, राजालाई मौका पनि दिइन माफी माग्यो विचरोले माफी दिउँ भनेर । यो मैले जरुर भने कि–अहिले देशको जुन परिस्थिति छ, त्यसमा राष्ट्रिय एकता चाहिन्छ । २०१७ साल पुस १ गतेको दिन भएको काण्डलाई मैले आफ्नो बक्तब्यमा सभ्य भाषामा निन्दा गरेको छु र भनेको छु–त्यस दिन हामीहरुको राष्ट्रिय चरित्रको हत्या भएको छ, ठूलठूला मानिसहरुलाई कागज गराएर छाडेका छन् । त्यस बखतमा मैले भनेको छु, जुन बखतमा सायद मलाई फाँसी हुन्थ्यो कि के हुन्थ्यो ?
मैले कुनै दुस्साहसमा त्यो भनेको होईन । मैले विश्लेषण गरेको थिएँ । मैले के बुझेको थिएँ भने जुन च्यापोमा जुन ढुंगाको बीचमा मेरो हात परेको छ, राजाको पनि त्यहीँ परेको छ । त्यसो हुनाले, मैले बुझेको थिएँ कि राजाले निगाहा देखाएर मलाई छोडेर होइन, राजनीतिक कामबाट राजाले कदम लिएमा मात्र त्यस ढुंगाबाट राजाको हात झिक्न सकिन्छ, वा हामीहरु पनि निस्कन सक्छौं, दया देखाएर मात्र हुँदैन । किनभने, राजाको त शक्ति पनि धेरै समाप्त भइसकेको थियो । त्यसो हुनाले राजनैतिक कदम राजाले चाल्नुपर्छ ।
एउटा सानो घटना घटेको छ । अदालतमा ओखलढुंगा काण्डमा सारा बयानहरु सिद्धिए, अव निर्णय दिन बाँकी छ । मेरो स्वास्थ्य फेरि खराव भयो । डाक्टरले भन्यो, तत्काल जानुपर्छ । अदालतले के भन्छ भने तपाईं जानुस्, हामी मुल्तवी राख्छौं यो केश । मैले भनें, अहँ यो निर्णय सुनेर नै म जान्छु । म पनि जाँच गरिरहेको थिएँ । त्यसपछि उसलाई अप्ठ्यारो पर्यो । गणेशमानजी चिन्तित हुनुभयो । किनभने मेरो स्वास्थ्य खराव थियो, म बेहोस हुन्थें होला । अनि उहाँलाई लाग्यो कि यो के आत्महत्या गर्न खोजेको ? पठाउनुपर्यो कोइरालाजीलाई, भनेर भन्न थाल्नुभयो । मैले भने अहँ, म त आफ्नो विश्लेषणको जाँच गरिरहेको थिएँ । त्यसपछि, उनले कसलाई सोध्नुपथ्र्यो सोधे, जे गर्नुपथ्र्यो गरे । मेरो ५ बजे प्लेन थियो, उनले पौने पाँच बजे निर्णय सुनाएका छन् । म त्यहीँबाट एयरपोर्ट गएको हुँ । अनि त्यहाँबाट म अमेरिका गएको हुँ ।
मैले के भन्न खोजेको भने एकापट्टी विदेशीहरुको यत्रो विगविगी छ, अर्कोपट्टी अर्को पनि तत्व रहेछ, जो तत्वले गर्दा त्यत्रो सातवटा मुद्धा लाग्दा लाग्दै, तमाम पञ्चायतको हरेक अंगले मलाई फाँसी दिनुपर्छ भन्दाभन्दै अनि फाँसीमा म गइन । कहाँबाट त्यो भयो ? जुन मैले विश्लेषण गरेको थिएँ, त्यो विश्लेषण सायद यहाँका कुनै न कुनै महत्वपूर्ण तत्वलाई पनि ठीक लागेको रहेछ ।
अव तपाईंहरु भन्नुहोला कि तिमिले त राजालाइ मानेर आयो, त्यसो हुनाले राजाले दया गरे । मैले जति माने राजालाई, त्यसभन्दा बेसी त पञ्चायतबादीले माने र भने–यसलाई फाँसी दिनुपर्छ । मैले त राजालाई त्यति मात्रै मानें कि राजतन्त्र हाम्रो मुलुकलाई चाहिन्छ । त्यो कस्तो राजतन्त्र भन्दा प्रजातान्त्रिक राजतन्त्र चाहिन्छ । मैले राजालाई त्यति मात्रै भनें । त्यसो हुनाले, एउटा तत्व रहेछ दरवारमा जसको स्वार्थ र जनताको स्वार्थ मिल्दो रहेछ । त्यो यसैबाट प्रमाणित हुन्छ ।
त्यसपछि म आएँ, सबैसँग भेटें, पब्लिक मिटिङ्ग भयो र हुँदाहुँदै अव त हामी यति खुलेआम बोल्न थालेका छौं । म मात्रै होइन, मनमोहन अधिकारी अस्ति मलाई भेट्न आएका थिए, उनी त झन् कडा बोल्छन् राजाको विरुद्धमा, तर कसैले भनेको छैन कि १ गते पुसका दिन जुन सबभन्दा घातक परिणाम भएको छ, त्यो विदेशीहरुलाई निम्त्याएको छ भन्ने कुरो कसैले भनेको छ भन्ने मलाई लाग्दैन । म सबभन्दा नजिकै राजाको, चार्ज लगाउँछु । म सबभन्दा नजिक राजाको, राजाले अहिले दिएको संविधानलाई नमान भन्छु, बायाकाट गर भन्छु, तर राजाको आवश्यक्तालाई पनि म बताउँछु । एउटा सिद्धान्तको आधारमा राजतन्त्र चाहिन्छ भनेर म भन्दछु । म कुनै चाप्लुसीको आधारमा भन्दिन । या, यि विदेशीका दलालहरुले जो गर्दछुन् कि, राजालाई मुखले स्वस्ती बाचन गर्यो तर विदेशीहरुलाई भित्र हुल्यो, त्यो म गर्दिनँ ।
(२०३८ साल मंसिर २५ गते जननेता स्व. विपी कोइरालाले दिएको बक्तब्य) उनको ‘राजा, राष्ट्रियता र राजनीति’ नामक पुस्तकबाट साभार ।