माओवादी केन्द्रीय कार्यालय बैठकः एकताबारे के होला निर्णय ?

काठमाण्डौँ, वैशाख ९ ।

एमालेसँग पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक अहिले बसिरहेको छ । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो । प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउने छन् । दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात् आज एकता घोषणा गर्ने तयारी थियो तर केही प्राविधिक विषयमा कुरा नमिलेपछि एकता घोषणाको अर्को मिति निश्चित भएको छैन ।

यसबाट एकता हुने कि नहुने भन्ने अन्योल बढिरहेका बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् । माओवादी नेता जनार्दन शर्माले एकता हुनेमा शंका गर्नै नपर्ने बताए । उनले भने, ‘केही कुरा मिल्न बाँकी भएकाले केही दिन पछि सरेको हो । एकता हुन्छ ।’ उनले आइतबारको केन्द्रीय कार्यालयको बैठक पनि एकता गर्ने विषयमा नै केन्द्रित हुने बताए । चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । ओली र प्रचण्डबीच हुँदै आएका छलफलले पनि निष्कर्ष निकाल्न सकेको छैन ।