महराको बयान–’रक्सी ७ वर्षदेखि छोएको छैन, त्यो दिन रोशनीले मलाई नै धम्की दिएकी हुन्’

काठमाण्डौं, कार्तिक १६ ।
संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतसमक्ष इन्कारी बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार काठमाडौं जिल्ला अदालतमा जबरजस्तीकरणी उद्योगअन्तर्गतको मुद्दा दर्ता गरेपछि थुनछेक बहसअघि शुक्रवार अदालतमा महराको बयान भएको हो ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेसमक्ष महराले इन्कारी बयान दिएको अधिवक्ता पद्मा आचार्य सुवेदीले जानकारी दिइन् । ’उहाँले सम्पूर्ण आरोपहरूमा इन्कारी बयान दिनुभएको छ,’ उनले भनिन् ।

स्रोतका अनुसार महराले पीडित भनिएकी रोशनी शाहीसँग २०४७ सालदेखि आफ्नो पारिवारिक सम्बन्ध रहेको बयान दिएका छन् । ’२०४७ सालदेखि नै उनी (रोशनी) को र हाम्रो पारिवारिक सम्बन्ध छ । उनको विवाहमा पनि मैले अभिभावकको भूमिका निर्वाह गरेको थिएँ । उनको श्रीमान/श्रीमती र हाम्रो परिवारबीच आउनेजाने भइरहन्छ ।’

रोशनी डिप्रेसनको रोगी भएको र मर्छु भनेर बेलाबेला आफूलाई धम्की दिने गरेको प्रसंग उल्लेख गर्दै महराले सो दिनपनि रोशनीको धम्कीपछि आफू उनको डेरातर्फ गएको तर फोन नउठेपछि फर्किएको बयान दिएका छन् । ’रोशनीले धम्की दिइरहेपछि मैले उनको श्रीमानलाई फोन गरेँ, उनले फोन उठाएनन् । त्यसपछि रोशनीलाई फोन गरेँ, उनले पनि उठाइन् । फोन गर्दै म उनको डेरातर्फ गएँ । फोन नउठेपछि बाहिरैबाट फिर्ता भएँ ।’

महराले आफूले शिक्षक छँदा विद्यार्थीलाई समेत एक लबेटा नलगाएको भन्दै आफूले कसैलाई कुटपीट गर्नै नसक्नै जिकिर गरेका छन् । ’१२ वर्षसम्म पढाएँ । विद्यार्थीलाई समेत कहिल्यै पिटिनँ । सर, यसो गर्दा त विद्यार्थीले कहाँ टेर्छन् र भन्थे,’ महराको बयान उद्धृत गर्दै स्रोतले भन्यो ।

आरोप लगाइए जस्तैगरी यदि आफू त्यहाँ गएको र गलत नियत राखेर कुटपीट गरेको भए संवेदनशील अंगहरूमा घाउचोट लाग्नुपर्ने जिकिर पेश गर्दै महराले आफूले त रोशनीको हातखुट्टामा मात्र चोट रहेको भन्ने सुनेको बताएका छन् ।

महराले पार्टीभित्र पनि आफू भलाद्मी र समन्वयकारी छवीको नेताका रूपमा चिनिने कुरा उल्लेख गरेका छन् । ’पार्टीभित्र पनि मलाई भलाद्मी र समन्वयकारी नेताको रूपमा चिनिन्थ्यो, कसले खै किन मलाई फसाउन खोज्यो थाहा भएन,’ महराले बयानमा भनेका छन् ।

महराले आफूले ७ वर्षदेखि रक्सी नखाएको जिकर पनि गरेका छन् । कोलेस्ट्रोल र युरिक एसिडको समस्या भएपछि ७ वर्षदेखि डाक्टरको सल्लाहमा आफूले रक्सी नखाएकाले हिमालयन रिजर्भ भन्ने रक्सीबारे आफूलाई केही थाहा नभएको महराले बयानमा भनेका छन् ।

प्रहरीले रोशनीको कोठामा भेटिएको हिमालयन रिजर्भ ब्राण्डको रक्सीलाई समेत प्रमाणका रूपमा अदालतमा पेश गरेको छ । महराले घटनामा आफ्नो संलग्नता नरहेको बेहोराको निवेदन गत असोज १५ गते प्रहरीलाई निवेदन दिएको तर उक्त निवेदन उपर कुनै कारवाही र त्यसलाई अदालती प्रक्रियामा प्रवेश नराएको भन्दै गुनासो समेत गरेका छन् ।

गत असोज १९ गते बालुवाटारबाट पक्राउ परेका महरामाथि आजै काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ । थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि जेल चलान गर्नेमध्ये एक आदेश हुनेछ ।