मन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याईंदै–प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जली, रामघाटमा अन्त्यष्टी

पोखरा, फागुन १७ ।
मुख्यमन्त्री सहित गण्डकी प्रदेशका सातै मन्त्रीहरु मन्त्री रवीन्द्र अधिकारीको घरमा पुगेर समवेदना प्रकट गरेका छन् । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाबाट मृत्युवरण गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री अधिकारीको परिवारलाई समवेदना दिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सहित मन्त्रीपरिषद् (क्याविनेट) का सबै सदस्य मालेपाटन स्थित घरमा पुगेका हुन् । परिवारलाई भेटेर निस्केपछि मुख्यमन्त्री गुरुङले देशका लागि ठूलो नोक्सान भएको भन्दै शोकलाई शक्तिमा बदलेर बाँकी सपना पूरा गर्नेतर्फ एकजुट हुनुपर्ने बताए ।

‘यो अत्यन्त दुखदायी घटना हो । शोकलाई शक्तिमा बदल्नुपर्छ । वहाँले छोडेर जानुभएको सपना हामीले पूरा गर्नुपर्छ, गुरुङले भने–वहाँको सिर्जनशिलता, जुझारुपन, इमान्दारिता सबैले सिकेर बाँकी काम अगाडी बढाउने हो । सहनुको विकल्प छैन । दुखको सामना गर्नुको विकल्प छैन ।’ अधिकारी पार्टीभित्र पनि निकै धेरै सम्भावना भएको नेता भएकोले ठूलो क्षति ब्यहोर्नुपरेको प्रतिक्रिया दिएका छन् । ‘राष्ट्रकै नोक्सान भएको बेला गण्डकीको क्षति नहुने कुरै भएन । पार्टीमा वहाँजस्तो यूवा नेताको धेरै खाँचो थियो । ज्यादै धेरै सम्भावना बोकेको ब्यक्ति हो, उनी भन्छन्–वहाँले यसबीचमा धेरै काम गर्नुभयो । बन्द भएका एयरपोर्टहरु खोल्नुभयो । एयरपोर्ट सुधारका काम भएका छन् । अझै गर्दै हुनुहुन्थ्यो । तर अव वहाँ हामीबीच हुनुहुन्न । वहाँले थालेका काम पूरा गर्ने हाम्रो दायित्व हो ।’

सरकारले मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टी गर्ने निर्णय गरिसकेको छ । प्रदेश सरकारले त्यसको चाँजोपाँजो मिलाईरहेको छ । विहिबार मन्त्रीपरिषद् बैठक बसेर मन्त्री अधिकारीको श्रद्धाञ्जली र अन्त्यष्टीको कार्ययोजना तय गरेको प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए । मन्त्री अधिकारीको शव अन्त्यष्टीका लागि शुक्रबार पोखरा ल्याउने कार्यक्रम छ ।

विहान ११ बजे हेलिकोप्टर मार्फत शव पोखरा आईपुग्नेछ । दिउँसो १ बजे नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि शव राखिनेछ । ४ घण्टा श्रद्धाञ्जलीका लागि राखेपछि शवयात्रा गरी रामघाटमा दाहसंस्कार गरिने सरकारले जनाएको छ । प्रदर्शनी केन्द्रबाट नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा हुने प्रबक्ता बस्नेतले जानकारी दिए ।

मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि शुक्रबार संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, कानुनमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलगायत सरकारी प्रतिनिधिका साथै नेकपाका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता पोखरा आउने कार्यक्रम छ ।