मनाङमा वर्षकै सबैभन्दा ठूलो हिमपात, तीनफिटभन्दा बढी हिउँ जम्यो (फोटो फिचर)

मनाङ, माघ ९ ।
मनाङमा यसबर्षकै सबैभन्दा ठूलो हिमपात भएको छ । सदरमुकाम चामेसँगै माथिल्लो मनाङको हुम्डे, खांङसार लगायत क्षेत्रमा मंगलवार अपराह्नदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन ।

निरन्तर हिउँ पर्दा तीन फिटभन्दा बढी जमेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकारी दिए । हिमपातसँगै बढेको चिसोका कारण मानिसहरु घरबाहिर निस्कन नसकेको प्रजिअ देवकोटाले बताए । बुधबार हिमपात भइरहेपनि बिहीबारदेखि मौसममा सुधार आउने मौसमविद वरुण पौडेलले बताए । 

उनका अनुसार बिहीबार र शुक्रबार सधार भए पनि शनिबारदेखि पुनः मौसममा खराबी आउने छ। पश्चिमी वायुको कारण मौसममा खराबी आएको मौसमविद पौडेलले जानकारी दिए । चिसोका कारण जनजीवनमा विपद नआओस् भनी पूर्वतयारी गरेको प्रजिअ देवकोटाको भनाइ छ । यस वर्ष बेलैमा हिमपात भएकाले किसानहरु हर्षित छन् ।