प्रहरीले च्यात्यो निर्मला पन्तका पोष्टर, अव नटाँस्न निर्देशन

काठमाण्डौं, मंसिर १४ ।
निर्मला पन्तका लागि न्यायको दबाव दिन राजधानीका विभिन्न स्थानमा टाँसिएका पोष्टर प्रहरीले हटाएको छ । ’सरकार त भेटियो, न्याय भेटिएन’ लेखेर पन्तका तस्बिरयुक्त पोष्टर प्रहरीले हटाएको हो ।

बुधबार राती एक युवा समूहले यस्ता पोष्टरहरु टाँसेका थिए । त्यही अभियानलाई निरन्तरता दिँदै अर्को युवा समूहले पोष्टरिङ गरेपछि १२ जनालाई प्रहरीले आज गिरफ्तार समेत गरेको थियो ।

महानगरीय प्रहरी बृत सिंहदरबारको टोलीले उनीहरुलाई राजधानीको माइतिघरबाट पक्राउ गरेको थियो । राजधानीमा एसिया प्रसान्त सम्मेलनका लागि आएर विदेशी राष्ट्रका प्रधानमन्त्रीलगायत अति विशिष्ट अथिति आएको समयमा यस्ता पोष्टरले नकारात्मक सन्देश जाने भन्दै प्रहरीले पोष्टर हटाउने काममा लागेको हो ।

पक्राउ परेकी युवती भावना राउतका अनुसार माइतिघर क्षेत्रमा शान्तिपूर्वक पोष्टर टाँस्दै गर्दा प्रहरीले पोष्टर च्यात्दै उनीहरुलाई गिरफ्तार गरेको हो । शान्तिपूर्वक न्यायको आवाज उठाउनेक्रममा हामी १२ जनालाई प्रहरीले पोष्टर किन टाँसेको भन्दै गिरफ्तार गरेको हो, राउतले भनिन, बुधबार रातिको अभियानलाई निरन्तरता दिँदै न्यायको आवाज उठाउँदा हामी गिरफ्तारीमा पर्नु परेको हो ।

’पक्राउ परेका युवालाई एसिया प्रसान्त सम्मेलन अवधिभर पोष्टर टाँस्नेलगायतका विरोधका कार्यक्रम नगर्न निर्देशन दिँदै अहिले साँझ हिरासत मुक्त गरेको छ ।