पुष्पा मृत्यु प्रकरण–घटना छानवीनको माग गर्दै जिप्रकामा धर्ना

पोखरा, भदौ ११ ।
पोखरा लामाचौरकी १४ बर्षिया पुष्पा केसीको अस्वभाविक मृत्यु भएपछि घटनाको छानवीन माग गर्दै स्थानीयहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना बसेका छन् । हत्या भएको उनीहरुको आशंका छ । लामाचौरका अगुवाहरुले नाराबाजी सहित जिप्रका अगाडी प्रदर्शन गरिरहेका छन् ।

अस्पतालले झुठो रिपोर्ट दिएर घटनालाई तोडमोड गर्न खोजेको उनीहरुको आरोप छ । झुठो रिपोर्ट फिर्ता ले, सत्यतथ्य छानवीन गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर उनीहरुले विरोध गरेका छन् ।

यसअघि नेविसंघ कास्कीले पनि विज्ञप्ती निकालेर घटनाको विरोध जनाएको छ । सभापति बिक्रम गिरीले हस्ताक्षर गरेको विज्ञप्तीमा बलात्कार प्रयास पछि हत्या भएको भन्दै हत्यारालाई पत्ता लगाएर कारबाही गर्न माग गरिएको छ ।

परिवारले पनि हत्या भएको आरोप सहित प्रहरीकोमा जाहेरी दिएका छन् । पुष्पाकी आमा गोमा केसीले छोरी सुस्त मनस्थितिको भएको भन्दै आत्महत्या नभई हत्या नै भएको बताएकी छिन् ।