पुष्पा केसी मृत्युको घटना यथाशिघ्र छानवीन गर्न मेयर जिसीको निर्देशन

पोखरा, भदौ ११ ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले १३ बर्षिया पुष्पा केसीको मृत्युबारे सत्यतथ्य छानवीन गर्न निर्देशन दिएका छन् । उनले सोमबार विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य छानवीन गरी सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

गत बिहीबार विद्यालयबाट घर फर्किने क्रममा बाटैबाट बेपत्ता भई भोलिपल्ट मृत अवस्थामा भेटिएकी केसीको घटनाले मर्माहत बनाएको भन्दै सुरक्षा चुनौति बढेको उनको गुनासो छ ।

पुष्पा केसी मृत्यु प्रकरणको यथासिघ्र सत्य तथ्य छानबिन गरी जनसमक्ष ल्याइ, यदी घटनामा कोेही संलग्न भएको पाइएमा दोषीलाई कडा कारबाही गर्न जिसीले जोडदार माग गरेका छन् । केसीको हत्या भएको आरोप सहित लामाचौरका स्थानीयले सोमबार जिल्ला प्रहरी कार्यालयमा पनि धर्ना कसेका थिए । उनीहरुले हत्यारा पत्ता लगाई कडा कारबाहीको माग गरेका छन् ।