पर्वतमा आफ्नै प्रेमिका बेपत्ता बनाए प्रेमीले, प्रहरीमा मुद्धा दर्ता
पर्वत, फागुन ४ ।
विवाह गर्छु भनेर लिएर हिँडेकी प्रेमिकालाई बेचविखन गरेको अभियोगमा भारतीय सेनाका लाहुुरे प्रेमीको विरुद्ध प्रहरीले चार वर्षपछि मुद्दा दर्ता गरेको छ । विवाह गर्छु भनेकाले प्रेमीको विश्वासमा हिँडेकी पर्वतको भंगाराकी सीता क्षेत्रीलाई बेपत्ता बनाएको अभियोगमा पर्वतको थापाठानाका मिलन भन्ने मनबहादुर क्षेत्री र उनका साथी मेकराज श्रेष्ठका विरुद्ध प्रहरीले चेलीबेटी बेचविखन तथा ओसारप्रसार कसुरमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङजाले क्षेत्रीका विरूद्ध मुद्दा दर्ता गरेको जानकारी प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए । ‘हामीले अनुसन्धानका क्रममा क्षेत्रीको भूमिका शंकास्पद भेटेपछि मुद्दा गरेका हौं’, स्याङजाका प्रहरी प्रमुख लम्सालले भने–‘अभियुक्तलाई भारतबाट इन्टरपोलमार्फत डिर्पोट गरेर ल्याउने र थप अनुसन्धान अगाडि बढाउँछौं ।’ अभियुक्त क्षेत्री भारतीय सेनामा कार्यरत छन् । भारतीय सेनाको ३÷४ गोर्खा राइफल्समा कार्यरत मिलन त्यसपछि पल्टनमा हाजिर हुन गएका थिए । उनले अर्को विवाह गरेको र त्यसपछि नेपाल नफर्केको बताइन्छ ।
पर्वतको फलेबास नगरपालिका–९ भंगाराकी सीता क्षेत्रीलाई २०७१ भदौ १५ गते प्रेमी मनबहादुर क्षेत्रीले विवाह गर्छु भनेर लगेपछि बेपत्ता भएको परिवारले दाबी गर्दै आएको छ । चार वर्षसम्म पनि खोजबिन हुन नसेको भन्दै आफन्तले असन्तुष्टि जनाउँदै बेपत्ता केसीको खोजबिनमा प्रहरीले कमजोरी गरेको आरोप लगाउँदै आएका थिए । क्षेत्री बेपत्ता भएपछि प्रतिनिधिसभा बैठकमा भदौमा सांसद पदम गिरीले प्रश्नसमेत उठाएका थिए । संसद्मा प्रश्न उठाएपछि प्रहरीले पुनः अनुसन्धान शुरू गरेको हो ।
२०७१ भदौ १५ गते विवाह गर्न प्रेमीले लिएर हिँडेकी क्षेत्री त्यसपछि बेपत्ता छन् । सीताले आफ्ना प्रेमी पर्वतकै फलेबास नगरपालिका–२ थापाठानाका मिलन भन्ने मनबहादुर क्षेत्रीसँग विवाह गर्न हिँडेको पत्र लेखेर छाडेकी थिइन् । त्यसयता प्रेमीले भेटेको नै छैन भनेर बयान दिँदै आएका छन् भने सीतालाई भगाउन घरमा मिलनसँगै गएका उनका साथी मेकराज श्रेष्ठले सोही दिन दुई जनालाई नै कार्किनेटा र थापाठानाको सिमानामा छाडेको बयान दिएका थिए ।, पत्रकार दुर्गाप्रसाद शर्माले खवर लेखेका हुन् ।