निर्माण ब्यवसायी संघको अधिवेसन, नयाँ नेतृत्व चयन हुँदै

पोखरा, भदौ २३ ।
निर्माण ब्यवसायी संघ कास्कीको अधिवेशन पोखरामा सुरु भएको छ । २६ औं साधारणसभा तथा १४ औं अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विकास निर्माणका काममा कुनैपनि सम्झौता नहुने बताए । ‘काम र गुणस्तरमा सरकार कम्परमाईज गर्दैन । तोकिएको गुणस्तरमा काम हुनैपर्छ, उनले भने–बरु नमिलेको कुरा भए बार्ताबाट हल गरौं ।’ उनले गुणस्तरीय काम गरेर राष्ट्र निर्माणमा जुट्न ब्यवसायी सँग आग्रह गरेका छन् ।

नेपाल निर्माण ब्यवसायी महासंघका सल्लाहकार तथा मानार्थ सदस्य सुकुन्तलाल हिराचनले सरकारले अनावश्यक रुपमा ब्यवसायीहरुलाई दुख दिने गरेको आरोप लगाए । अर्का सल्लाहकार सल्लाहकार शिवशंकर गौचनले कानुनहरुमा राखिएका केही बुँदाहरुले ब्यवसाय सञ्चालनमा बाधा पुग्ने भन्दै यसको संशोधनका लागि सुझाव पठाए । सल्लाहकार सुकुन्तलाल हिराचनले ब्यवसायीले काम सकिसकेपछि पनि भुक्तानीमा आलटाल गर्दा ब्यवसायीलाई मर्का परेको गुनासो गरे । वाईडी कार्की बजेट निकासा भैसकेपछि मात्रै टेण्डर निकाल्न सुझाव दिन्छन् ।

प्रदेश ४ का सांसद कृष्ण थापाले ब्यवसायीहरुमाथी राज्यको ठूलो जिम्मेवारी रहेको भन्दै त्यसलाई पूरा गर्न एकजुट हुनुपर्ने बताए । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले ब्यवसायी र राज्यको समबन्ध सुमधुर हुन सके मात्रै निर्माणका काम प्रभावकारी हुने बताए । कार्यक्रममा नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रवी सिंह, महासचिव रामशरण देउजा, गण्डकी प्रदेश संयोजक ओमप्रसाद गौचन, नवलपरासी सुस्ता निर्माण ब्यवसायी संघकी अध्यक्ष गौमाया खण्डुलुक लगायतले खानी, टेण्डर र भुक्तानीका बिषयमा बोलेका थिए । साधारणसभामा सचिवको बार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

शनिवार नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ । दुई प्यानल घोषणा गरेर उम्मेदवार अघि सरेका छन् । काँग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रीक प्यानल र नेकपा निकट अर्को प्यानल चुनावी प्रतिश्पर्धामा छ । दुवैले आफुले जित्ने दावी गरेका छन् ।