निर्मला पन्तको हत्यारा खोजिरहेको टोलीले भेट्टायो भान्सामा गाडिएको १८ किलो सुन !
कञ्चनपुर, फागुन २ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथबस्तीस्थित एक घरबाट प्रहरीले बिहीवार १८ किलो सुन बरामद र्गयो । गाडेर राखिएको अवस्थामा उक्त परिमाणमा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी आभूषण तिमिल्सिनाले लोकान्तरलाई जानकारी दिए ।
स्थानीय शंकर भनिने भरत विश्वकर्माको भान्सा घरमा सुन गाडेर राखिएको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । पुनर्वास २ का वडाध्यक्ष सन्तकुमार चौधरीका अनुसार भरत मजदूरीका शिलशिलामा भारतको कोलकत्तामा छन् । उक्त परिवारको आर्थिक अवस्था सामान्य रहेको वडाध्यक्ष चौधरीले बताए ।
सुन बरामद गर्ने टोलीमा कैलालीका एसपी तिमिल्सिनाका अलावा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी सुदीप गिरी र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौंका डीएसपी रुगम कुँवर पनि थिए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन र दोषी पहिचानका लागि एसपी गिरी र डीएसपी कुँवर करीब ३ महिनादेखि कञ्चनपुरमा छन् ।
निर्मलाको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । केन्द्र र जिप्रका कैलालीको टोलीले इप्रका त्रिभुवनबस्तीसँग समन्वय गरी सुन बरामद गरेको हो । आफ्नै जिल्लामा घटना भएपनि जिप्रका कञ्चनपुरको टोली भने सामेल भएन । उपराष्ट्रपति नन्दबहादुर पुन कञ्चनपुरमा रहेकाले जिप्रका कञ्चनपुरको टोली उनकै सुरक्षामा खटिएको थियो ।