दुई तिहाईको कम्युनिष्ट सरकार मुलुकका लागि खतरा : नेता पौडेल

 

काठमाडौं, कार्तिक ९ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको सरकार मुलुकको लागि खतरा रहेको आँैल्याएका छन् ।

दिपावलीलगायतका चाडवाडको अवसरमा काठमाडौ क्षेत्र नम्वर–४ ले आज काठमाडौमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले दुई तिहाई मुलुकलाई अधिनायकवादतर्फ लान प्रयोग भएको आरोप लगाए ।

उनले अदालतलाई तर्साउन, अख्तियारलाई धमक्याउन, संवैधानिक निकायलाई कुण्ठित गर्न र जनतालाई त्रसित बनाउन दुईतिहाई प्रयोग भएको बताए ।

उनले दुई तिहाईको दुरुपयोग रोक्नको लागिसडक,सदन र बिपक्षबाट खवरदारी गर्नु पर्ने पनि बताए ।

उनले सरकारले मुलुकलाई विकाश भन्दा बिनाशतर्फ धकेलेकाले त्यसका लागि नेपाली कांग्रेसले खबरदारी गर्ने बताए ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरु सरकार सञ्चालनमा असफल रहेको बताए । मुलुकको समृद्धिको लागि नेपाली कांग्रेसको नेतृत्व आवश्क रहेको उनको भनाई थियो ।

जनताले उखान टुक्का नभई विकास चाहेको भन्दै विकासमा लाग्न सरकारलाई सुझाव दिए । उनले सरकारले काण्डै काण्ड मच्चाएर मुलुकको बेइज्जत गरेको बताए ।

नेपाली कांग्रेसका युवा नेता गगन थापा, धनराज गुरुङलगायतले नेपाली कांग्रेसको मुख्य शत्रु राजनीतिक पार्टी नभई रोग, गरिवी, अशिक्षा, भ्रष्टाचार र हत्याहिंसा भएकाले त्यसका बिरुद्ध लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

उनीहरुले भ्रष्टाचार नियन्त्रण सरकारको देखावटी नारा भएको र भित्री रुपमा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए र राष्ट्रपति, उपराष्ट्रपति र सरकारका मान्छेहरु आवतजावत गर्दा जनता आतंकीत भएको बताए ।(ईमेजखबरबाट साभार)