गाउँमा घुमाई–घुमाई बाटो, तालभरी ढुंगा र माटो

प्रकाश ढकाल
पोखरा, भदौ ८ ।
आजभन्दा २५ बर्षअघि फेवातालको क्षेत्र १२ हजार रोपनी हाराहारीमा थियो । २०३३ सालमा २२ हजार रोपनीमा रहेको फेवाताल ३० बर्षपछि २०६४ मा केन्द्रिय नापी टोलिले नापजाँच गर्दा १० हजार रोपनी मात्रै भेटियो । त्यसयता आधिकारीक कुनै तथ्यांक छैन । ५० को दशकसम्म फेवाको पश्चिमी किनारबाट स्थानीयहरु डुंगा चढेर पोखरा झर्थे । ‘सम्पत्ति भएकाहरु डुंगा चढ्थे । पैसा नभएकाहरु चाहीँ डोकामा सामान बोकेर ताल किनारबाट हिड्नुपथ्र्यो, ठूलाखेतका गंगाधर तिमिल्सीना भन्छन्–जुत्ता लौरोमा उनेर काँधमा हाल्यो । सुरुवाल फर्काएर कम्मरमा पु¥यायो । बर्खा त कुरै छोड्नुस्, हिउँदमा ताल तर्दा पनि कम्ता सकस हुन्थेन ।’ समथर भागजति पानी भरिने भएकोले कहिले काहीँ कान्लो उक्लेर हिडडुल गरेको सुनले सुनाए । ठूलाखेत, चापाकोट, भदौरे लगायतका ठाउँबाट नुनतेल किन्न पोखरा झर्नेहरु डुंगा नचढी सुखै थिएन ।

…………………………………………………………………

२०४९ सालमा पहिलो पटक फेवातालको पामे क्षेत्रबाट सडकको ट्रयाक खुल्यो । सँधै डुंगाबाट आउजाउ गर्ने गाउँलेले मोटर चढ्न पाए । जनताकै श्रमदानबाट खुलेको ट्रयाक अहिले फेवाको आसपास डाँडैभरी फैलिएको छ । ‘घर कुरिया गरेर कुटो कोदालोले बाटो खोल्यौं । डोजर चलाउँदा माटोले ताल पुर्ने हामीलाई चिन्ता थियो, तत्कालीन जिल्ला विकास समितिका सभापति महादेव गुरुङले भने–त्यति गर्दा पनि महादेवले ताल पु¥यो भनेर सारा प्रशासन र नेताजति मेरो खिलापमा लागे । अहिले कान्लैपिच्छे डोजरले भत्काएका छन् । पहिरिएर डाँडै खुईलिसक्यो । सरकार टुलुटुलु हेरेर बसेको छ ।’ विकासबाट जनतालाई टाढा राख्न नसकिने भएपनि जथाभावी डोजर चलाएर डाँडा भत्काउने काम रोक्नुपर्ने उनले सुझाए ।

‘विकासलाई कसैले रोक्न सक्दैन । जनतालाई एक्सेस दिनैपर्छ । फेरि विकासको कुरा गर्ने वित्तिकै प्रकृतिलाई असर गरेकै हुन्छ, उनले थपे–तर फेवाताल सेन्सेटिभ क्षेत्र हो । ईको सिस्टम र वातावरणीय सन्तुलन विगार्ने छुट कसैलाई छैन । वातावरणमैत्री विकास मोडल प्रयोग गरिनुपर्छ ।’ ताल संरक्षणको नाममा आएका बजेट संरक्षणकै क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए । सडक विस्तारले निम्त्याएका विपत्तिले पछिल्लो समय स्थानीय पनि चिन्तित छन् । ‘फेवाताल यति सानो होला र घरमै गाडी आउला भन्ने सोचेका पनि थिएनौं, भदौरेका स्थानीय भक्त बहादुर गुरुङ भन्छन्–विकास आउँदा खुशी त लागेको छ । तर फेवाताल गुम्छ कि भन्ने डर पनि उत्तिकै छ ।’ उनले संरक्षण सहितको विकासे अवधारणालाई अगाडी सार्नुपर्ने सुझाव दिए ।

…………………………………………………………………

फेवा किनारमा ट्रयाक खुलेपछि सराङकोटबाट कास्कीकोट हुँदै नाउडाँडा निस्किने बाटो खुल्यो । त्यतिखेरै ढिकुरपोखरीको काँडेबाट भदौरे हुँदै सल्यान निकाल्ने अर्को ट्रयाक खुल्यो । फेवा जलाधारमा पर्ने कुनैपनि गाउँ छैन, सडक नपुगेको । एउटै गाउँमा दुईतीन तिरबाट पनि सडक खनिएको छ । १ सय १० बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फेवा जलाधारमा ३ सय ३० किलोमिटर कच्ची सडक बनिसकेको प्रतिवेदन आईयुसिएनले निकालेको छ । नयाँ ट्रयाक खोल्ने क्रम अझै रोकिएको छैन । २ बर्षअघि भदौरेको सिरानमा डाँडै पहिरियो । ढिकुरपोखरी, चापाकोट र कास्कीकोटका ठाउँठाउँमा पहिरो गयो । पहिरिएका माटो सबै तालमै बगेर आउँछ । प्राविधिकले सही निरीक्षण नगर्दा र मनपरी बाटो खनेकै कारण जमिन पहिरिने क्रम बढेको विज्ञहरु बताउँछन् । जानकारहरुका अनुसार फेवातालमा बर्षेनी १ लाख ४० हजार मेट्रिक टन ढुंगा, गिटी र लेदो थुप्रिन्छ ।

…………………………………………………………………

हरियो वन कार्यक्रमले फेवातालको आयु १ सय ९० बर्ष अनुमान गरेको छ । यद्यपी स्थानीयहरु यसलाई मान्न तयार छैनन् । उनीहरुलाई लाग्छ–यही हिसावले अतिक्रमण हुँदै गए ६० बर्षपनि फेवाताललाई जोगाउन सकिँदैन । ‘फेवाताल बर्षेनी धानखेत बनिरहेको छ । डाँडाबाट झर्ने बाढीले ताल पुरेको हामीले देखिरहेका छौं, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामछिानेले भने–मान्छेलाई घरघरै बाटो चाहिएको छ । ताल अतिक्रमण गरेर घर बनिरहेका छन् ।’ उनकै संयोजकत्वमा बनेको टोलिले तालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको प्रमाण निकालेको थियो । ९ सय ५० भन्दा बढी ब्यक्तिले बाँध फुटेका बेला तालको जग्गा आफ्नो नाममा पास गरेको र पछि बाँध उठाउँदा सोही जग्गा तालमुनी देखिएको लामिछानेले बताए ।

…………………………………………………………………

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ को कुवँरथरलाई चारवटा बाटोले छुन्छ । बागलुङ राजमार्गको नाउडाँडाबाट एउटा बाटो गएको छ भने सराङकोटबाट छुट्टै अर्को बाटो पुगेको छ । बागलुङ बसपार्क–सराङकोट हुँदै नाउँडाँडा र पामे–कार्किको तहरा, अधिकारी डाँडा हुँदै नाउँडाँडा निस्किने बाटो पनि यही गाउँ छिराएर लगिएको छ । भदौरे गाउँमा अहिले नयाँ बाटो खन्ने काम सुरु भएको छ । भञ्ज्याङबाट हर्पनवादी हुँदै भदौरै पु¥याउने सडकको ट्रयाक खन्न लागिएको स्थानीयले बताए । यो गाउँमा यसअघि नै काँडे र पाउँदुर बाट छुट्टाछुट्टै मोटरबाटो पुगेको छ । बैदाम–पामे ठूलाखेत हुँदै तामागीबाट पनि भदौरेसम्म अर्को सडक पु¥याईएको छ ।

खासै आवश्यक नभएपनि जथाभावी बाटो खन्दा जमिन कमजोर हुने र सामान्य बर्षा हुँदा पनि पहिरिने भुगोलका विद्यार्थी तथा स्थानीय भानु पराजुलीले बताए । युएनले गरेको एउटा सर्भेले भदौरे तामागी क्षेत्रलाई पहिरोको उच्च जोखिमयुक्त सूचीमा राखेको छ । ‘फेवाको जलाधारमा कमेरे माटोबाट बनेका जमिन छन् । अलिअलि पानी पर्ने वित्तिकै माटो बगाउन थाल्छ, उनले भने–त्यसमाथी डोजरले थर्कायो भने जमिन कमजोर हुन्छ । छिटो पहिरो जान्छ ।’ कास्कीको १५ औं जिल्ला परिषद्ले भदौरे क्षेत्रमा डोजर चलाउन नदिने नियम बनाएको थियो । तर अहिलेसम्म पनि डोजर चल्ने क्रम रोकिएको छैन ।

महानगरका मेयर मानबहादुर जिसी पनि जलाधार क्षेत्रमा डोजर चल्न नदिने बताउँछन् । ‘लुकीछिपी फेवातालमाथी आक्रमण भैरहेको छ । मनपरी डोजर चलाउनु नै फेवाताल सिध्याउने बाटो हो, उनले भने–देखेसम्म कारबाही गरेका छौं । प्राविधिकको स्टिमेटले पनि यो क्षेत्रमा डोजर चलाउन पाईंदैन ।’ कुनैपनि बाहनामा फेवा आसपासमा अव डोजर चलाउन नदिने उनको भनाई छ ।