कच्चा सांसदहरु–कार्यान्वयन नहुँदै नियमावली संशोधन तयारी

पोखरा, चैत १७ ।
१ महिनाअघि बनेको प्रदेशसभा नियमावली संशोधनको तयारी भएको छ । संसदको कार्यसम्पादनमा समस्या देखिएको भन्दै नियमावली नै परिवर्तन गर्न लागिएको हो । सांसद कृष्णबहादुर थापाको प्रश्तावमा ४ वटा बुँदामा संशोधनको तयारी छ । संसदको बिषयगत समितिमा सदस्य बढाउने, विधेयक टेवुल गर्ने समय छोट्याउने, पदाधिकारीमा सदस्य थप गर्ने र नागरिकको समस्याप्रति हस्ताक्षर संख्या बढाउने प्रश्ताव पेश गरिएको हो । विषयगत समितिमा यसअघि ११ जना सदस्य रहने ब्यवस्था थियो । तर केही सांसद समितिबाट बञ्चित हुने भन्दै संख्या थपेर १३ जना बनाउनुपर्ने एमालेले माग गरेको थियो । सोही मागलाई आधार मानेर संख्या थप्ने प्रश्ताव पेश गरिएको हो । यस्तै प्रदेशसभामा बिधेयक टेवुल गर्ने समय पनि छोट्याईएको छ । अहिले सरकारी बिधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएको ५ र गैर सरकारी बिधेयक ७ दिन पुगेपछि मात्रै संसदमा छलफल गर्नुपर्ने ब्यवस्था छ । त्यसलाई संशोधन गरेर सरकारी बिधेयक ३ र गैरसरकारी बिधेयक ५ दिनमा टेवुल गर्ने ब्यवस्था ल्याउन लागिएको हो ।
यस्तै प्रदेशसभाको नियमावलीमा पदाधिकारी थप गरिएको छ । सभामुख, उपसभामुख, प्रदेशसभामा विपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक र प्रदेशसभाको सचिव पदाधिकारी हुने ब्यवस्था रहेकोमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक र बिषयगत समितिका सदस्यहरुलाई पनि पदाधिकारीको रुपमा राख्ने ब्यवस्था ल्याउन लागिएको हो । प्रदेशभित्रका नागरिकलाई कुनै समस्या परे १ सय जनाको हस्ताक्षर सहित ३ सांसदले प्रमाणित गरेर संसदमा आवेदनपत्र पेश गर्न पाउने ब्यवस्था नियमावलीमा छ । यसलाई पनि संशोधन गरेर कम्तिमा ७ सय नागरिकको हस्ताक्षर जुटाउनुपर्ने नियम बनाउन लागिएको हो । सांसद थापाले पेश गरेका संशोधन प्रश्तावमाथी सांसद गायत्री गुरुङले समर्थन गरेकी छिन् । संशोधन प्रश्ताव पेश भएपछि प्रदेशसभा नियमावली संशोधन प्रश्ताव समिति गठन भएको छ । समितिमा ईन्द्रलाल सापकोटा, रोशनबहादुर गाहा थापा, ललितकला गुरुङ, विष्णप्रसाद लामिछाने, मधु अधिकारी, चन्द्रबहादुर बुढा, टेकबहादुर घर्ति र हरिशरण आचार्य सदस्य छन् ।
शुक्रबारको बैठकबाट यसअघि संसदमा छलफल भएको जनप्रतिनिधिको तलव सुविधा र लिखत प्रमाणीकरण विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाईएको छ । बैठकमा केही सांसदहरुले बिशेष समय लिएर समसामयिक घटनाबारे संसदको ध्यानाकर्षण गराएका छन् । शुक्रबार विहान बागलुङको काठेखोला गाउँपालिका २ भिमापोखरामा विद्युत सर्ट भएर आगलागी भएर पशु श्रोत फार्म नष्ट भएकोमा सांसद द्धय ईन्द्रलाल सापकोटा र कोपिला बोहराले ध्यानाकर्षण गराएका हुन् । उनीहरुले तत्काल राहत उपलब्ध गराउनका लागि माग समेत गरेका छन् । आगलागीबाट ८० लाख बराबरको क्षति भएको अनुमान छ । यस्तै गोरखाको भीमसेन थापा गाउँपालिकाका कुमार रानामगर साउदीको जेलमा आजिवनका लागि थुनिएको भन्दै उद्धारको माग गर्दै गोरखाका सांसद हरिशरण आचार्यले प्रदेशसभाको ध्यानाकर्षण गराए । ७ बर्षअघि साउदी पुगेका रानाले चलाउने गाडी ५ बर्षअघि दुर्घटनामा परेको थियो । दुर्घटनामा मान्छेको मृत्यु भएको भन्दै उनलाई आजिवन जेल सजाएं तोकिएको हो । उचित क्षतिपुर्ति दिनसके उनी जेलमुक्त हुने आचार्यको भनाई छ ।