अदालतको आदेशविपरित पोखरामा रुख काटियो

पोखरा, साउन १७ ।
पोखरा महानगरले धमाधम रुख ढाल्न थालेपछि पोखराका अधिकारकर्मी र संरक्षणकर्मीहरुले अदालतमा मुद्धा दायर गरे । उच्च अदालतले यसरी रुख विरुवा नढाल्न अन्तरिम आदेश जारी गर्यो । केही समय रोकियो पनि ।

तर रुख ढाल्ने काम महानगरले फेरी निरन्तर गरिरहेको छ । पोखरा ५ धर्मस्थली वाल उद्यानभित्र रहेका आँपका रुखहरु काट्न थालिएको हो । अदालतको पनि मानहानी हुने गरी रुख ढालिएको भन्दै संरक्षणकर्मी रामबहादुर पौडेलले ध्यानाकर्षण भएको जनाएका छन् ।

‘अदालतले रुख नकाट्नु भनेर परमादेश जारी गरेको छ । तर महानगर टेर्दैन, उनले भने–अदालतकै अपनान गर्नेहरुबाट सामाजिक न्यायको अपेक्षा कसरी गर्ने ?’ उनले दोषीलाई तुरुन्त कारबाही गर्नुपर्ने माग गरेका छन् ।

वडाध्यक्ष धनबहादुर नेपालीले चाहीँ जाईकाको प्रोजेक्ट भित्र पर्ने भएकोले रुख काटिएको बताएका छन् । ‘जाईकाले पोखरामा बनाउने खानेपानी आयोजनाभित्र यी रुखहरु पर्छन् । ६ महिनाअघि नै निर्णय गरेर काम गरेको जाईकालाई रोक्न हामीले चाहेर पनि सक्दैनौं, उनले भने–त्यो भन्दा बाहिरका रुख नकाट्न मैले पनि निर्देशन गरिसकेको छु । आयोजनामा चाहीँ स्टे अर्डर गरेको कुरा लागू हुँदैन ।’