बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
म्याग्दी, फागुन २२ ।
सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि बिहीबारदेखि सञ्चालनमा आएको छ ।
मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पहिरो खसेको ठाउँमा सडक मर्मत गरेर खुलाइएको जानकारी दिए ।
सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर र मजदूर परिचालन गरेर पहिरो पन्छाइएको हो । उपकरण परिचालन गर्नुअघि अप्ठ्यारो र जोखिम भएकाले सुरक्षा निकायको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाइएको थियो ।
सुक्खा पहिराले सडक भासिएपछि एक्साभेटरसहित कालीगण्डकी नदीमा खसेर चालक सिन्धुपाल्चोकका अर्जुन दाहालको मृत्यु भएको थियो ।
सडक खुलेपछि बेनीदेखि जोमसोम र जोमसोमदेखि बेनीतर्फ हिँडेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिराले १५ मिटर सडक भासिएको थियो ।
सडक अवरुद्ध हुँदा यात्रुले गन्तव्यमा पुग्न सवारीसाधन परिवर्तन गर्न बाध्य भएका थिए । पहिरा पार गर्न जङ्गलको उकालोमा ४५ मिनेट घुमाउरो पैदलयात्रा गर्नुपर्ने समस्या थियो ।
(रासस)