प्रधानमन्त्री ओली भन्छन्–‘दुनो सोझ्याउन केसीको जीवनसँग खेलवाड’
पोखरा, साउन ३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक दलले आफ्नो दुनो सोझ्याउन डा. गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको अरारोप लगाएका छन् । पोखरा विश्वविद्यालयको १९ औं साधारण सभामा बिहीबार उनले सरकारले चिकित्सकको टोली पठाँउदा केसीको छेउमा पुग्न अवरोध गर्नु नाजायज भएको बताए ।
‘केही–केही मानिसहरु गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो रोटी सेक्न खोज्दैछन्’ प्रधानमन्त्री ओलीले भने–जसले जे भन्छ त्यही पत्याउन सरकारलाई बाध्यता छैन । गोविन्द केसी आफ्नो खुशीमा चलिरहनुभएको छ कि पराधीन हुनुहुन्छ ? बुझ्न सकिएन ।’
चिकित्सकले हड्ताल गर्नु आफ्नो पेशागत मर्यादा विपरीत भएको प्रधानमन्त्रीको भनाइ छ । ‘अन्य पेशाका पेशाकर्मीलाई आज हड्ताल छ,काम गर्दिन भन्दा त्यसले ठूलो घाटा नगर्ला तर, डाक्टरले बिरामी जाँच्दिन भन्दा एकैदिनमा कयौंको ज्यान जान सक्छ’ प्रधानमन्त्री ओलीले भने ‘बिरामीको उपचार गर्ने पेशा रोज्ने अनि उपचारै गर्दिन भन्नु नैतिकहीन हो ।’