स्याङजा सालँडाडाको चामुण्डा देवी मन्दिरको पुनः निर्माण सम्पन्न

स्याङ्जा, बैशाख १ ।

स्याङ्जाको हरिनास गाँउपालिका १ सालडाँडामा रहेको चामुण्डा देवी मन्दिरको पुनः निर्माणको काम सकिएको छ । पुनः निर्माण गरिएपछीको मन्दिरको उद्घाटन शनिवार समाजसेवी ख्याम नारायण मानन्धरले गरेका छन् ।

शनिवार एक कार्यक्रमको आयोजना गरी मन्दिरको उद्घाटन गरि मन्दिर निर्माणमा सहयोग गर्ने सहयोगी दाताहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

जिर्ण अवस्थामा रहेको मन्दिरको पुनः निर्माणको काम ८ महिनामा सकिएको हो । गत भदौदेखी निर्माण कार्य सुरु गरिएको मन्दिर बनाउन करिव १८ लाख लागत लागेको चामुण्डा देवी मन्दिर पुन निर्माण समितीको कोषाध्यक्ष ज्योति प्रसाद मानन्धरले जानकारी दिए । मन्दिर निर्माणको लागी हरिनास गाँउपालिकाले १ लाख २० हजार उपलब्ध गराएको थियो भने बाँकी रकम देश बिदेशमा रहेका साँलडाडाबासीले स्वथस्फूर्त रुपमा सहयोग गरेको उनले जानकारी दिए । यसरी सहयोग गर्नेहरुबाट संकलन गरिएको करिव साढे १८ लाखबाट मन्दिर पुनः निर्माण भएको हो । बाँकी रकम मन्दिरकै संरक्षणमा खर्च गरिने पनि उनले बताए ।

चामुण्डा देवी मन्दिर पुनः निर्माण समितीका अध्यक्ष प्रकाश मानन्धरले बाँकी रहेको रकमको सही सदुपयोग गर्ने बताए । उनले अब मन्दिरको संरक्षण समिती गठन गरेर संरक्षणको काम गर्ने पनि बताए । मन्दिरमा नियमित पुजाआजाको लागी पुजारीको ब्यवस्था समेत गर्ने योजना रहेको बताए ।

चामुण्डा देवीको मन्दिरमा पुजा गरेमा मनोकांक्षा पुरा हुने विश्वासले मन्दिरमा भक्तजनको घुईचो लाग्ने गरेको पुन निर्माण समितीको कोषाध्यक्ष ज्योति प्रसाद मानन्धरले जानकारी दिए । मन्दिरमा सालडाँडामा रहेको रानाथर, अधिकारीथर, हट्टिया, जामुने, सारुथर लगाएत छिमेकी गाँउहरु छेक्मा, खुदी ओरष्टे र छिमेकी जिल्ला तनहूँदेखी समेत भक्तजन जाने गरेको उनको भनाई छ । मन्दिरमा बिषेश गरी बडादशै, चैते दशै जस्ता पर्वमा भक्तजनको घुईचो लाग्ने गर्छ ।

मन्दिरमा झुण्डाईएको घण्टीको आधारमा १९३० सालमा बनेको मन्दिरको २०४६ साल, २०५६ सालमा पनि पुनः निर्माण गरिएको थियो ।