मुस्ताङले चिन्न नसकेको मुस्ताङी चेली

टोप विक

पोखरा, वैशाख ४ ।

हिमालपारीको जिल्ला भनेर चिनिने स्थान हो मुस्ताङ । मनोरम प्राकृतिक दृष्य, हिमाल, धार्मिक तिर्थस्थल लगायतका कारण अझ बढी प्रख्यात छ यो जिल्ला । पर्यटन र कृषि नै जिल्लाको मुख्य पेशा र आयश्रोत हो ।

यही मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको कोवाङमा जन्मिएकी चेली हुन् रोजीना गौचन थकाली । हिमालपारीको जिल्लामा जन्मे हुर्केर पनि उनको सफलतामा भने राष्ट्रस्तरको छ तर मुस्ताङ भने बेखबर छ ।

उनको सफलता हो आईएसजी एजी (कृषि विज्ञान डिप्लोमा) को परीक्षामा नेपालस्तरबाट दोश्रो हुनु । २०५६ मा फाल्गुनमा कोवाङमा जन्मेकी थकालीले २०७१ सालमा मुस्ताङबाटै एसएलसी उत्तीर्ण गरिसकेपछि मदनभण्डारी मेमोरियल एकेडेमी उर्लाबारीमा कृषि प्राविधिक विषय अन्तरगतको आईएसजी एजी अध्ययन सुरु गरिन् । तीनबर्षे कोर्ष अन्तरगत अन्तिम सत्र २०७५ मा पास गरिन्, त्यही पनि नेपालभरिमा नै दोश्रो स्थान हाँसिल गर्दै ।

परिवारमा आमा–बाबा र दुईजना बहिनी त्यसमाथि मुस्ताङको कहिले हिउँले पुरिने ठण्डी त कहिले पहाड गर्जाउने बतास् । त्यही संघर्षका विचमा हुर्केकी चेली हुन् ‘रोजीना गौचन थकाली’ । रोजीलाई कृषिमै निर्भर रहेको मुस्ताङी जीवनस्तर उकास्न कृषि क्षेत्रमा नै मुस्ताङ धेरै काम गर्न मन छ । कृषि मै निर्भर भएपनि आधुनिक कृषि प्रविधि अवलम्बन गर्न नसक्दा उत्पादन कम हुने हुँदा किसानहरुमा परेको मर्का उनले राम्ररी बुझेकी छन् । कृषि प्राविधिकको अभावले मुस्ताङले भोगेको अभावले पनि उनलाई कृषि प्राविधिक विषय अध्ययन गर्न प्रेरणा मिल्यो ।

उनी कृषिमा आधुनिकीकरण भित्र्याउँदै अन्धविश्वास हटाउन चाहिन्छन् । मुस्ताङकै स्थानीय उत्पादन स्याउ, उवा, जौं, फापर लगायतका बालीको उत्पादकत्व बढाउन चाहिन्छन् । यही अभिप्रायका साथ उनी आईएसजी एजीमा नेपालकै दोश्रो स्थान हाँसिल गर्दै उत्तीर्ण गरेर अहिले बीएसजी एजी अध्ययनको तयारी गर्दैछन् ।

आफु त्यो भूगोल र परिस्थितीमा हुर्केर पनि यत्तिको सम्म प्राप्त गर्न सकेको सफलतामा खुसी छिन् । तर जुन हिसाबले अग्रजहरुबाट पाउन पर्ने प्रेरणा हो त्यो नपाउँदा भने दुखी छिन् । उनलाई लाग्थ्यो यो सफलतामा जिल्लाका व्यक्तिहरुलाई आफुलाई अझ अगाडी बढ्ने प्रेरणा दिन्छन् तर उनको सफलतामा उनी र उनका परिवार बाहेक अरु जोडिन सकेनन् ।