आहा ! हिमाली शहरमा विश्वकै दुर्लभ खेल, माछापुच्छ्रे ताकेर वल हिर्काउँछन् खेलाडी (फोटो फिचर)

पोखरा, कार्तिक ९ ।
१२ बर्षअघिको कुरा । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी(एशियन क्रिकेट काउन्सिल) उत्कृष्ठ फोटोको उपाधि दिलायो । खिचेका थिए फोटो पत्रकार सुदर्शन रन्जितले ।समय फेरिएको छ । मैदान बनेको छ । त्यही मैदानमा टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग हुदैै छ । जुन प्रतियोगितालाई क्रिकेटको सर्वोच्च संस्था आईसिसी (इन्टरनेशनल क्रिकेट काउन्सिल)ले मान्यता दिएको छ । ‘सन २००७ को फोटोले दिलाएको अवार्डले पोखरालाई अन्तर्रा्ष्ट्रिय रुपमा चिनायो ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘आईसिसीले पिपिएललाई दिएको मान्यताले पोखरालाई एक्पोजर गराउँछ ।’एसिसीको अवार्ड र आईसिसीको मान्यताले पोखरालाई क्रिकेटको शहरको रुपमा परिचय थपिदिएको छ । खेलकुद मन्त्री जगत विश्वकर्मा र राष्ट्रिय खेलकुुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरालाई क्रिकेटको अन्तर्रा्ष्ट्रिय न्युट्रल भेन्युको रुपमा विकास गर्ने लक्ष्यलाई सहयोग पुर्याउने छ । तर त्यसको लागि आवश्यक पुर्वाधार बनाउनुपर्ने खाँचो भने पोखरेली क्रिकेटप्रेमीले औल्याएका छन् ।

सन् २००७ अघि पोखरा रंगशालामा क्रिकेट मैदान थिएन भन्दा फरक पर्दैन् । पत्रकार सुदर्शन रन्जितको फोटोले अवार्ड जितेपछि क्रिकेटप्रतिको क्रेज ह्वात्तै बढेको थियो । आम खेलकुदप्रेमीको चाहना क्रिकेट मैदान बनाउनुपर्छ भन्ने दबाव रह्यो । अनि शुरु गरियो मैदान निर्माण । तत्कालिन क्यानका अध्यक्ष विनयराज पाण्डेको सक्रियता, कास्की जिल्ला क्रिकेट संघका ततकालिन अध्यक्ष डा. विरेन्द्रसिंह गुरुङको पहलमा बर्तमान क्रिकेट मैदान बनाउन शुरु गरियो । निर्माण समितिको जिम्मेवारी लिदैं पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक पालिखेले मैदान खार्ने र सम्याउने काम भयो ।खारिएको जमिनले मैदानको आकार लियो । अनि क्रिकेट पीच बनाईयो । पाँचवटा पीच बन्यो । राष्ट्रिय खेलुकद परिषदले छुट्टाएको बजेटले थोरै थोरै काम अगाडि बढाईयो । आउट फिल्डमा माटो हालियो । अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसारको साईज बनाएपछि क्रिकेटका प्रतियोगिता आयोजना गर्ने पुर्वाधार बन्यो ।‘पिपिएल पोखराको ब्राण्ड हो । आईसिसीले मान्यता दिएको छ । हरेक खेललाई आईसिसीले अपटेड गर्छ । गेमलाई प्रत्यक्ष नियाल्छ ।’ पोखरा प्रिमियर लिगका आयोजक क्विन्ट इभेण्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले भने–‘त्यो ब्राण्ड पोखराबासीसँगै हुन्छ । हामी त आयोजना र व्यवस्थापन मात्रै गर्ने हो ।’ पिपिएलको पहिलो संस्करण सबैलाई चासो छ । त्यही अनुसारको तयारी गरिएको छ । राष्ट्रिय क्रिकेट खेलाडी, विदेशी खेलाडीसँग घरेलु खेलाडीले पनि सहभागिता जनाई एक्पोजरको मौका पाउने छन् ।पिपिएल स्पोर्टस टुरिज्मको पहिलो खुडकिलो भएको पर्यटन व्यवसायीको ठम्याई छ । पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले आईसिसीको मान्यता पाएको पिपिएलले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पोखरा स्पोर्टस डेष्टिनेसशनको रुपमा परिचियत हुने विश्वास व्यक्त गरे । ‘खेलकुदको आवश्यक पुर्वाधार बन्नुपर्छ । जति पुर्वाधार बन्यो उति नै स्पोर्टसले गति लिन्छ । टुरिज्म प्रोमोसन हुन्छ ।’ उनले भने । क्रिकेटसँगै उनले टेनिसको सर्वोच्च संस्था आईटिएफले ग्रेड फोरको गेमले पनि पोखरालाई स्पोर्टस सिटीको रुपमा परिचय गराएको उनको भनाई थियो ।