निर्मला हत्याकाण्ड–प्रहरीले किन साट्यो ल्याबमा पठाएको नमुना ?

कञ्चनपुर, असोज २२ ।
निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको नमुना नै हेरफेर गरेको खुलासा भएको छ । घटनामा कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी डिल्लराज विष्टसहितको टोलीले प्रमाण संरक्षण गर्नुका साटो नष्ट गरेको आरोप लागेको छ । सरकारी छानविन समितिले त्यसलाई सदर मात्र गरेको छैन्, प्रमाणका रुपमा प्रयोगशालामा पठाइएको नमुनामै हेरफेर गरेको खुलासा गरेको छ ।

प्रतिवेदनअनुसार जिप्रका कञ्चनपुरले भदौ ४ गते तयार पारेको बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, निलो रंगको भित्र शरीरमा लगाउने गन्जी र खैरो रंगको जिन्स हाफपाइन्ट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ८ गते पठाइएको थियो ।

तर, दुई दिनपछि जिप्रकाले दुई वटा चलानी नम्बरमा पत्र लेखेर नमुनामा नै सच्याएको पाइएको छ । ‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्चाइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ । मुचुल्कामा उल्लेख भएको निलो कट्टु, गञ्जजी र हाफ पाइन्ट दिलिपसिंह विष्टको घरबाट बरामद भएको थियो ।

प्रहरीले विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, विष्टलाई दोषी प्रमाणित गर्न प्रहरीले नमुना परिर्वतन गराएको पाइएको छ । प्रहरी नायव निरीक्षक हरसिंह धामीका अनुसार विष्टले शौचालयमा हस्तमैथुन गरेको र हातमा विर्य लगाएर आएका थिए ।

त्यसपछि विष्टबाट बरामद भएको नयाँ नमुना प्रयोगशालामा पठाएको छानविन समितिको ठहर छ । ‘प्रयोगशालामा पठाइसकेको नमुना किन परिर्वतन गर्नु र्पयो ?’, छानबिन समितिका एक सदस्यले भन्छन्, ‘मुचुल्कामा उल्लेख भएको नमुना हेरफेर गरेर अपराधी लुकाउन खोजिएको छ ।’