पोखरामा अपरिचित शव–पहिचान खुलेन

पोखरा, असोज ८ ।
मुसे टुडा कुलाको छेउमा शनिबार भेटिएको शवको पहिचान अझै खुलेको छैन । अन्दाजी ३५ वर्ष जस्तो देखिने पुरुषको शव फेवातालबाट जाने पानीको कुलामा फेला परेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी नविन कार्कीले जनाए ।

उनका अनुसार पानी लगाउन जाने स्थानीयले देखेर खबर गरेका थिए । त्यसपछि शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइयो । शव अझै त्यहीं छ । मंगोलियन अनुहार भएका, सेतो टिसर्ट, निलो जिन्स, कानमा मुन्द्रा लगाएका, अगाडि कपाल रातो पारेका ति पुरुषको उचाई ५ फिट ३ ईन्च छ । शव हेर्दा २÷३ दिनको पुरानो शव रहेको डिएसपी कार्कीले जनाए ।