गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप–१ को मृत्यु, २ सयभन्दा बढी बिरामी
गोरखा, कार्तिक ६ ।
गोरखाको धार्चे गाँउपालिका–७ लापु गाँउमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ ।
दुई सयभन्दा बढी मानिस बिरामी छन् । ५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो । गुरुङ एक सातादेखि ज्वरोबाट पीडित थिइन् ।
गाँउमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताए । ‘गाँउको स्वास्थ्य संस्थामा एक जना मात्रै स्वास्थ्यकर्मी हुनुहुन्छ । बिरामी धेरै भएकाले उपचार गर्न भ्याइनभ्याइ छ’, उनले भने ।
स्वास्थ्य संस्थामा पर्याप्त औषधि नभएको गुनासो गर्दै गुरुङले भने, ‘गाँउमा औषधि र थप स्वास्थ्यकर्मी पठाउन जिल्लामा अनुरोध गरेपनि कुनै सुनुवाइ भएन ।’
धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप फैलिएको गाँउमा औषधि र स्वास्थ्यकर्मी जिल्लाबाट माग गरिएको बताए ।