६ महिनादेखि भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

 

परासी, फागुन ९ ।

६ महिनादेखि भारतमा बन्धक बनाइ राखिएका दुई नेपाली युवतीको बिहीबार राति उद्धार गरिएको छ ।

पश्चिम नवलपरासीस्थित सीमा प्रहरीचौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगन्ज जिल्लाको कटरीरोड, कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

आफ्ना छोरीलाई बन्धक बनाइ राखिएकाले ‘उद्धार गरिदिनू’ भन्ने युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान पनि चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

‘युवती लैजाने राई थरकी महिला र अन्य संलग्नहरुको खोजी भइरहेको छ’–उनले भने ।

उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदी–बहिनी हुन् ।

एक महिलाले पसलमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारी भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाइ शारीरिक, मानसिक तथा आर्थिक यातना दिने, अर्केष्ट्रामा नाच्न लगाउने र घरमा आउनसमेत नदिएपछि उनीहरुले घरमा खबर गरेको युवतीकी आमाले बताइन् । (रासस)