५ वर्षसम्म राज्यका सुविधा जनतालाई दिएका विन्दुको घोषणाः फेरिपनि सबै सुविधा जनहितमै खर्च गर्छु (प्रोफाइल)

पोखरा, कात्तिक ३० ।
विद्यार्थी बेलाको त्यो समय । बुवा चन्द्रबहादुर थापा भारतीय आर्मीमा थिए । विद्यालय पश्चातको फुर्सतको समय । विन्दुकुमार थापा आफूलाई कहिँ न कहिँ व्यस्त राख्थे । त्यो बेला पोखराले अहिलेको रुप लिइसकेको थिएन । ग्रामीण परिवेश थियो ।

त्यो सामाजिक परिवेशमा विद्यालय सकेपछि विन्दुकुमार थापा पनि कृषिमा नै जोडिन पुगे । गोठमा गाई भैँसी पालेका थिए । रोपनी जग्गामा कोदो रोप्थे, फसल उत्पादन गर्थे । त्यतिबेलाको समय स्मरण गर्दै विन्दुकुमार थापा भन्छन, “हामी पनि कृषक परिवारबाट आएका हौँ, खेतबारीमा काम गथ्र्यौँ, पसिना बहाउँथ्यौँ ।”

बाल्यकालीन ती दिन अहिले विन्दुकुमार थापाको सम्झनामा मात्रै छन । आफ्नै दमले परिचय बदलेका विन्दु आफ्नो संघर्ष भन्न हिचकिचाउँदैनन । कृषि क्षेत्रमा गरेका दुख, बगाएका पसिना उनलाई ताजै छन । प्राथमिक तह, माध्यमिक तहको पढाई सकेपछि उनी आइएल पढ्न पृथ्वीनारायण क्याम्पस भर्ना भए । पछि कानूनमा स्नातक पनि गरे । कलेज पढ्दाताका नै उनी राष्ट्रबैंकको जागिरे जीवनमा प्रवेश गरे । तीन वर्ष अस्थायी जागिरपछि राष्ट्रबैंकमा उनले आफ्नो १८ वर्ष बिताए ।

१८ वर्ष सेवापश्चात उनी पेन्सन निस्के । पेन्सन निस्किँदा उनको हातमा थियो, १८ लाख रुपैयाँ । त्यही १८ वर्ष राष्ट्रबैंकमा बेचेको युवा उमेर, पसिनाको कमाई थियो, त्यो । हातमा पैसा भएपछि पनि त्यसलाई कहाँ प्रयोग गर्ने ? सोचमग्न भए उनी । त्यो १८ लाख र त्यसको सही लगानी, त्यसको प्रतिफल चाहिँ अहिलेका विन्दुकुमार थापा हुन । उनको नाम एउटा छ, परिचय चाहिँ अनेकौँ । धनाढ्य विन्दु, व्यवसायी विन्दु, समाजसेवी विन्दु, नेता विन्दु, गण्डकीका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दु ।

यी अनेकौँ परिचय बनाउन उनले गरेका संघर्षका अनेकौँ परिचय छन । जागिरे जीवन होस वा व्यवसाय, चाहे राजनीति । उनी बद्नाम भएनन । त्यसकारण उनले अर्को नाम पाएका छन, ‘निष्कलंक विन्दु ।’ उनै निष्कलंक विन्दु व्यवसायपश्चात थालेको राजनीतिक यात्राको दोश्रो जीतको लागि जनतालाई भेटेका छन, मतदातासामु पुगेका छन । विन्दु नै यस्ता भाग्यमानी उमेदवार हुन, जसको निर्वाचन क्षेत्र कास्क २ (ख) पोखरा महानगरपालिकाको बजारक्षेभित्र पर्छ, अर्कातर्फ उनको पहिचानका कारण सबै मतदाताले राम्रोसँग चिनेका छन ।

सहजता, उनको अर्को विशेषता हो । मन्त्रालय होस वा घर, विन्दुकुमार थापाको घरमा आम मानिसलाई जान कुनै रोकतोक छैन । उनी मतदातालाई चुनावको समयमा मात्रै होइन, अघिपछि पनि सहजरुपमा सुन्छन र उनीहरुका समस्या समाधानको प्रयत्न गर्छन । राजनीति गरे, चुनाव जिते तर, आफूले पाउने सेवासुविधा सबै जनताको काममा खर्चिएका कारण समाजसेवीको छवि बनाएका विन्दुलाई त्यही कारण दोश्रोपटक पार्टीले विश्वास गरेर अघि सारेको छ ।
प्रतिकूलताका बिच ०७४ को प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा कास्की जिल्लाका अन्य सबै क्षेत्र नै वाम गठबन्धनले कब्जा गर्दा प्रदेश राजधानी पोखरामा कास्की २(ख) बाट चुनाव जितेर उनले पार्टीको साख जोगाइदिएका थिए । विगतको तुलनामा अहिले गठबन्धनको सहयोग उनलाई छ । पाँचदलीय गठबन्धनका साझा उमेदवार बन्दै गर्दा उनी दोश्रोपटक प्रदेशसभामा पुग्न प्रयासरत छन ।

राजनीतिमा आउनुअघि विन्दु व्यवसायमा व्यस्त थिए । देशकै पुरानो उद्योगी व्यवसायीको संस्था उद्योग वाणिज्य संघ पोखरालाई उनले २०७२ मा नेतृत्व गरे । थापा वि.सं. २०५० सालमा नेपाल राष्ट्र बैंक स्टाफ संघको सदस्य, नेपाल अटोमोबाइल डिलर्स एशोसियसन नाडा उपाध्यक्ष (२००८ देखि १०१० ), नेपाल रसिया च्याम्बर अफर कमर्स गण्डकीको अध्यक्ष (२०१२ देखि २०१६), सल्लाहकार पश्चिमाण्चल अटोमोबाइल डिलर्स एशोसियसन (२००५ देखि २०१६), सल्लाहकार गण्डकी ल्याण्ड एण्ड हाउजिङ एशोसियसन (२००२ देखि २०१६) संस्थामा आबद्ध भएका थिए ।

उद्योग वाणिज्य संघको कार्यकाल पश्चात नै विन्दु थापा राजनीतिमा सक्रिय भएका हुन । पहिलो कार्यकाल, पहिलो अभ्यास र पहिलो निर्वाचनबाट चुनाव जित्दै उनले आफ्नो पाँच वर्ष सफल तुल्याए नै यस अवधीमा उनी उदाहरणीय सांसद, मन्त्री नै बन्न पुगे । उदाहरणीय यस अर्थमा कि, पाँच वर्षमा उनले आफ्नो सेवासुविधाबाट पाउने रकममा व्यक्तिगत खर्च थपेरै ५८ लाख ३० हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरे । ‘राजनीतिलाई सेवा गर्ने माध्यम’ नीति लिएर उनले पाँचवर्षमा सांसद भएबापत ४० लाख ७१ हजार रुपैयाँ पारिश्रमिकमा १८ लाख ३० हजार व्यक्तिगत रुपमा थप गरि जनसेवामा खर्च गरेका थिए ।

पहिलो पाँच वर्षमा गण्डकीले ६१ वटा कानून बनाउँदा विन्दुकुमार थापा बहालवाला कानूनमन्त्री छन । प्रदेश नं. ४ लाई गण्डकी र अस्थायी राजधानी पोखरालाई स्थायी बनाउने प्रक्रियाको नेतृत्व मन्त्री हुनुपूर्व उनै थापाले गरे । प्रदेशका ११ वटै जिल्लामा पुगेर, जनतादेखि संस्थागत राय सुझाव लिएर थापा नेतृत्वको ‘प्रदेश नामांकन तथा स्थायी राजधानी’ को लागि गठित विशेष उपसमितिले बुझाएको प्रतिवेदनकै आधारमा गण्डकी प्रदेशसभाले नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ तोक्न सफल रह्यो । प्रदेशको नामाकरण र राजधानी जस्तो ऐतिहासिक अनि संवेदनशील कामको नेतृत्व गरि त्यसलाई टुंगोमा पु¥याउन उनले भूमिका खेले ।

पाँच वर्ष कार्यकाल सकिँदै गर्दा आसन्न प्रदेशसभामा सोही क्षेबाट उमेदवार बनेका छन थापा । चुनावपछि विगतको कार्यकाल झैँ आफूले पाउने सेवासुविधा व्यक्तिगत काममा खर्च नगरी समाजसेवामा नै निरन्तरता दिने उनले प्रतिबद्धता जनाइसकेका छन ।