५३ करोड ठगी आरोपमा गण्डकी मेडिकल कलेजका २ जना पक्राउ

पोखरा, फागुन २३ ।
गण्डकी मेडिकल कलेजका दुईजनालाई प्रहरीले पक्राउ गरेको ठगी मुद्धामा विद्याथीले दिएको उजुरीका आधारमा जिल्ला अदालतको अनुमतिपछि १० जनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । तिमध्ये पुर्व प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मणप्रसाद शर्मालाई बुधबार राती पक्राउ गरिएको हो । विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा उनीहरुलाई विद्यार्थीले उजुरी गरेका हुन् । खनाललाई पोखराको विरौटा र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई राष्टबैंक चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

अरु ८ जना पनि खोजी भैरहेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएपछि अधिकांशको मोवाईल स्विच अफ छ । सम्पर्क विहिन भएकोले पक्राउ गर्न समस्या भैरहेको प्रहरीले जनाएको छ । कलेजका अध्यक्ष खुमा अर्याल सहित प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख यूवराज शर्मा, लेखाकै हरिमाया पौडेल, प्रशासनतर्फका दिनेश पौडेल, पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कलेजका कर्मचारीहरु तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिए ।

बाँकी ८ जनालाई पनि पक्राउका लागि ६ महिनाको हदम्याद छ । मनपरी शुल्क असुलेको भन्दै विगत १ महिनादेखि विद्यार्थीहरु आन्दोलित छन् । उनीहरुले कलेज र अस्पतालमा समेत ताला ठोकेर आन्दोलन गरिरहेका छन् भने एमविविएस तेश्रो बर्षको परीक्षा समेत दिएनन् । सरकारले उपत्यका बाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ तोकेपनि ५५ लाख रुपैयाँ भन्दा बढी लिएको विद्यार्थीको आरोप छ ।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर कलेजका पाँच सय बढि विद्यार्थी एक महिना देखि आन्दोलनमा छन् ।