४ करोड लगानीमा फेवातालमा ८० फिटको झण्डा सहित पार्क बनाईने

पोखरा, बैशाख १६ ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउन लागेको छ । दुवै सरकारको ५०÷५० प्रतिशत लगानीमा पार्क बनाउन लागिएको हो । पार्क तयार गर्न ४ करोड लाग्ने अनुमान छ ।

पार्क निर्माणको सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका मेयर सहित मन्त्री र वडाध्यक्षहरुको उपस्थितिमा शिलान्यास गरिएको छ । शिलान्यास पछि मुख्यमन्त्री गुरुङले प्रदेश सरकार र पोखरा महानगरबीच सहकार्य नटुटेको सन्देश दिन यो काम गर्न लागिएको बताए । ‘प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध राम्रो छैन भनेर होहल्ला आउँछ । तर बास्तविकता त्यस्तो छैन, उनले भने–दुवै सरकार सँगसँगै छौं भन्ने सन्देश दिन पनि यो काम महत्वपूर्ण छ ।’

पर्यटकीय गन्तब्य विस्तार गर्ने योजना सहित पार्क निर्माणको परिकल्पना गरिएको गुरुङको भनाई छ । ‘गण्डकी प्रदेश पर्यटनबाटै समृद्धी चाहान्छ । त्यसका लागि संरचना बनाउनुपर्यो, उनी भन्छन्–यो पार्क एउटा महत्वपूर्ण गन्तब्य हो । निर्माणमा कुनै समस्या हुँदैन ।’ उनले तोकिएकै समयभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

४ करोड लागतमध्ये चालू बर्षमा १ करोड रुपैयाँ विनियोजन भएको छ । पार्कको पहिलो चरणको काम गर्न विनु कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ । ‘१ करोड ९ लाखको टेण्डर निकालेका हौं । ७६ लाखमा काम गर्न निर्माण कम्पनी राजी भयो, महानगरका प्रमुख इञ्जिनियर शोभियत खड्काले भने–१७ रोपनी क्षेत्रफलमा आकर्षक पार्क बन्छ । यो बर्षको काम असार मसान्तभित्रै सक्नुपर्ने छ ।’

पार्कमा जाने पुलसहित टिकट काउण्टर, रेष्टुरेष्ट, छहरा, फुट ट्रयाक, बाल उद्यान लगायत संरचना बन्ने प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । उनका अनुसार पार्क भित्र ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा राखिने छ ।

महानगरका मेयर मानबहादुर जिसीले फेवाताल संरक्षणका लागि पनि पार्क निर्माण महत्वपूर्ण हुने बताए । ‘विदेशतिर गयो भने यो ठाउँ पुग्नैपर्ने भनेर लैजान्छन् । हामी पनि पोखरा आएका पर्यटकलाई यो पार्क घुम्नैपर्ने ठाउँ भनेर प्रचार गर्ने हो, उनले भने–लेकसाईडका कारण छायाँमा परेको ड्यामसाईड अव चम्किनेछ । ड्यामसाईड पनि लेकसाईड हो भनेर प्रमाणीत गर्न यो पार्कको भूमिका ठूलो हुन्छ ।’

आन्तरिक र बाह्य दुवै पर्यटकलाई लक्षित गरि पार्क निर्माण गरिने उनले सुनाए । प्रदेश सरकारले मन्त्रीपरिषद् बैठकबाटै झण्डापार्क बनाउने निर्णय गरेको थियो । त्यसका लागि महानगरले पनि समन्वय गरेको हो ।