३ महिनामा पोखरामा मात्रै १७ हजार गाडी कारबाहीमा

पोखरा, कार्तिक २ ।
वितेको ३ महिनामा कास्कीमा मात्रै झण्डै १७ हजार गाडीका चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, रक्सी पिएर गाडी चलाउने र मनपरी भाडा असुल्ने १६ हजार ९ सय ५० गाडीका चालकहरु कारबाहीमा परेका हुन् । सबैभन्दा धेरै भदौमा ६ हजार २ सय ५० गाडी कारबाहीमा परेका छन् भने साउनमा ५ हजार ९ सय र असोजमा ४ हजार ८ सय गाडीका चालकलाई कारबाही गरिएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार कारबाहीमा पर्ने गाडीहरुमा ठूला ट्रकदेखि मोटरसाईकल र स्कुटरसम्म छन् । यी गाडीलाई कारबाही गरेर प्रहरीले ३ महिनामा १ करोड २९ लाख रुपैयाँ राजश्व उठाएको छ । साउनमा ४४ लाख ७५ हजार, भदौमा ४८ लाख ६१ हजार ५ सय र असोजमा ३६ लाख २० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको कार्कीले बताए ।

कास्कीमा खासगरी ट्याक्सीहरु मिटरमा जान नमान्ने र रक्सी पिएर मोटरसाईकल र कार चलाउनेहरु बढी कारबाहीमा परेका छन् । दशैंको बेलामा मात्रै १ सय २२ वटा ट्याक्सी मिटरमा जान नमानी मनोमानी हिसावले भाडा लिएपछि प्रहरीले समातेर कारबाही गरेको थियो । यस्तै, लामो दुरिका ठूलो बस र माईक्रोले समेत यात्रुलाई करकापमा पारेर बढी भाडा असुलेको भन्दै कारबाही गरिएको छ । ३ वटा ठूलो बस र २ वटा माईक्रो कारबाहीमा परेका कास्की ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले जानकारी दिए । नेपालन्यूज

File Photo