३ महिनामा पोखराबाट मात्रै साढे २ सय जुवाडे पक्राउ, साढे २० लाख नगद बरामद

पोखरा, असोज २८ ।
पोखरामा जुवातास खेल्ने करिब साढे २ सय जना पक्राउ परेका छन् । यो पछिल्लो तीनमहिनाको तथ्यांक हो । कास्की प्रहरीले गरेको स्विप अपरेसनमा साउनयता २ सय ३२ जना जुवाडे पक्राउ परेका हुन् । त्यसमध्ये पुरुष २ सय १७ जना छन् भने महिला १५ जना छन् । पछिल्ला महिनाहरुमा पोखरामा जुवातास खेल्नेहरु बढिरहेका छन् । पक्राउ परेका अधिकांश पेसेवार रहेको प्रहरीले जनाएको छ । यो अवधीमा २० लाख ३६ हजार नगद बरामद भएको छ ।

शनिबार र आईतबार मात्रै साढे ७ लाख नगद सहित ३२ जुवाडे पक्राउ परेका छन् । सबैभन्दा धेरै असोज महिनामा नगद बरामद गरेको कास्की प्रहरीले जनाएको छ । असोजमा ८ लाख ९५ हजार नगद बरामद भएको छ भने भदौमा ५ लाख ५९ हजार र साउनमा ५ लाख ८१ हजार बरामद भएको कास्कीका प्रहरी निरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

असोजमा ६८ वटा जुवातासको मुद्धा दर्ता भएको छ भने ७० जना पक्राउ परेका छन् । यस्तै, भदौमा ११ मुद्धामा ७८ जना कारबाहीमा परेको तथ्यांक छ । साउनमा १२ वटा मुद्धाबाट ८४ जनालाई कारबाही गरिएको छ । कास्की प्रहरीले आइतबार राती मात्रै पोेखरा १८ बाट ६ लाख १० हजार नगद सहित १५ जनालाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।