३ अर्व लागतमा भरतपुरमा बन्ने भयो अन्तराष्ट्रिय क्रिकेट रंगशाला, थ्रिडि हेर्नुस्

भरतपुर, माघ १६ ।
धुर्मुस सुन्तली फाउन्डेसनले अढाई वर्षमा गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिसक्ने बताएको छ । बुधबार राजधानीमा आयोजित रंगशाला घोषणा सभामा फाउन्डेसनले रंगशालाको थ्रि–डी भिडियो तथा तस्बीर समेत सार्वजनिक गरेको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच जग्गा सम्बन्धी सम्झौता भएको छ । भरतपुर महानगरपालिकाले २० विगाह ६ कठ्ठा जग्गा फाउन्डेनसलाई हस्तान्तरण गरेको छ । कृषि तथा वन विश्वविद्यालयले भोगचलान गरिरहेको उक्त जग्गा रंगशाला निर्माण गरिने भएसँगै महानगरमार्फत फाउन्डेसनलाई उपलब्ध गराउन सहमत भएको हो ।

बुधबार आयोजित कार्यक्रममा रंगशाला कस्तो बन्ने भन्ने भिडियो तथा तस्बीर देखाइएको छ । फाउन्डेनको योजना अनुसार बनेको उक्त भिडियो तथा तस्बीरमा दिइएको जानकारी अनुसार गौतम बुद्ध क्रिकेट रंगशालाले २० विगहा ६ कठ्ठा जग्गाको पूर्ण रुपमा उपयोग गर्नेछ ।

रंगशालामा क्रिकेट सहित, फुटबल, बास्केटबल, स्विमिङ पुलको समेत मैदान हुनेछन् । विशेषगरी क्रिकेट मैदानमा २५ हजार दर्शक अट्ने क्षमता हुनेछ । विश्वस्तरीय मापदण्ड अनुसार क्रिकेट मैदान तयार हुनेछ । क्रिकेट मैदान प्रवेश गर्नका लागि चार द्वार हुनेछन् । जहाँ मिडिया सेन्टरको राम्रो व्यवस्था हुनेछ । क्रिकेट खेलाडीका लागि दुई विशेष सुविधा भएका मैदान हुनेछन्। आराम कक्ष समेत उस्तै स्तरीय हुनेछ ।

रंगशाला भित्र क्रिकेट एकेडेमी समेत निर्माण हुनेछ । जहाँ ७७ जिल्लाकै प्रतिभावान खेलाडीको छनौट गरिनेछ । क्रिकेट स्टेडियम नेपाली मौलिकता झल्काउने खालको हुनेछ। यसले पर्यटकलाई समेत आकर्षित गर्नेछ। नेपाली जनावारका धातुका मूर्तिहरु निर्माण हुनेछन् । पूर्णरुपमा स्तरीय र अन्तराष्ट्रिय मापदण्डको यस क्रिकेट मैदान पर्यटकको हब बन्ने फाउन्डेसनको विश्वास छ । यस स्टेडियमले गौतम बुद्धको वास्तविकतालाई समेत विश्वमाझ पुर्याउन मदत गर्नेछ ।

रंगशालाको लागत ३ अर्ब अनुमान गरिएको छ । देश विदेशमा रहेका नेपाली, विभिन्न संघ संस्थाबाट सहयोग आइरहेको छ । धेरैभन्दा धेरै सहयोगको अपेक्षा गरिएको फाउन्डेसनले जनाएको छ ।