३५ वर्षपछि पोखरामा भारोत्तोलन प्रतियोगिता

धन बस्नेत
पोखरा, पुस १६ ।
३५ वर्षपछि पोखरामा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने भएको छ । २३ औं पुरुष तथा ८ औं महिला सस्करणको राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २६ गतेदेखि पोखरा रंगशालामा हुने छ । पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितापछि पहिलो पटक भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता पोखरामा आयोजनाको अवसर जुरेको हो । राष्ट्रिय खेलकुद परिषद च्याम्पियन अन्तर्गत पोखरामा दुईदिन अघि मात्रै महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ नौं तौल समूहमा प्रतिस्पर्धा गराईने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । महिला तर्फ भने पनि ९ तौल समूहमा प्रतिस्पर्धा हुने छ ।
“ओलम्पिक स्टाईल वेटलिफ्टिङ”मा पुरुष तर्फ ५२ केजी, ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजी तौल माथिको समूहमा प्रतिस्पर्धा गराईने छ । त्यसैगरी महिला तर्फ ४४, ४८, ६५३, ५८, ६३, ६९, ७५, ९०, र ९० माथिको तौल मसूहमा प्रतिस्पर्धा हुने भारोत्तोलन संघ कास्कीका अध्यक्ष राजनकुमार बडगामीले बताए । स्न्याच, क्लिन एण्ड जर्कमा प्रतिस्पर्धा गराईने छ । उनका अनुुसार स्न्याच, क्लिन र जर्क तीन वटै इभेण्टमा खेलाडीले पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । तौल तीन पटक उठाउने मौका खेलाडीले पाउने छन् । प्रत्येक पटक तौल उठाउन खेलाडीलाई एक मिनेटको समय दिईन्छ ।
नेपालको एकमात्र नियमित पदक विजेता खेलको रुपमा रहेपनि खेलप्रति अभिरुचि बढन नसकेको भारोत्तोलन संघले जनाएको छ । नेपाल भारोत्तोलन संघका सचिव एवं प्रशिक्षक सन्जय महर्जनले पहिलो साफदेखि १२ औं साफसम्म विभिन्न पदक जितेपनि भारोत्तोलन खेलप्रति ग्लामरस नभएको स्पष्ट पारे । १८९६ देखि नै ओलिम्पिकमा समावेश खेल नेपालमा भने २०३६ सालमा भित्रिएको उनले सुनाए । ओलम्पिकदेखि साफसम्म सहभागिता जनाई नेपालको लागि भारोत्तोलन खेलाडीले १३९ वटा विभिन्न पदक जितेको उनले जानकारी दिए । उनका अनुसार १४ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक पोखरेली खेलाडी सुनिललाल जोशीको नाममा रहेको समेत स्मरण गरे ।
प्रतियोगितामा तीन विभागिय टोलीबाट ८ महिला र ८ पुरुष तथा विभिन्न २२ जिल्लाबाट ७५ पुरुष ४१ महिलासहित १८२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा १८ लाख १९ हजार खर्चहुने अनुमान गरिएको छ । दशलाख रुपैयाँ राखेपबाट उपलब्ध गराउने भारोत्तोलन संघका उपाध्यक्ष उमेश सिकेले बताए ।