२ महिनाअघि काँग्रेस छोडेकी रजनी साझा पार्टीबाट सांसदको उम्मेदवार

पोखरा, कार्तिक ६ ।
गएको भदौ अन्तिममा नेपाली काँग्रेस परित्याग गरि साझा पार्टी प्रबेश गरेकी रजनी केसीलाई कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाईएको छ । मंगलबार पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय बैठकले केसीलाई सांसद उम्मेदवारको टिकट दिने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै साझा पार्टीका प्रबक्ता डा. सूर्यराज आचार्यले भने, ‘अरु पार्टीमा कुनै सम्भावना नदेखेर वहाँ साझामा आउनुभयो । साझाको लक्ष्यअनुसारको आचरण वहाँसँग छ । त्यसैले सबै साथीहरुको सहमतिमा केसी जीलाई उम्मेदवार बनाईएको हो ।’

पत्रकार सम्मेलनमा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले कास्कीको निर्वाचनलाइ निकै ठूलो महत्वका साथ लिईएको बताए । ‘देशलाई इमान्दार मान्छे चाहिएको छ । जुनसुकै पार्टीको भएपनि राम्रा मान्छेलाई साझा पार्टीमा स्वागत छ,’ उनले भने, ‘यही क्षेत्रबाट बिजयको विगुल फुक्न हामी आएका हौं । कसैलाई हराउन र कसैलाई विगार्न हामी आएका होईनौं ।’

निर्वाचन आयोगले तोकेकै खर्चमा चुनाव सक्ने दावी गर्दै उनले चुनाव लड्ने खर्च केन्द्रिय समितिले नब्यहोर्ने बताए । ‘जोसुकैै उम्मेदवार भएपनि चुनावको खर्च केन्द्रीय कार्यालयले दिँदैन । बरु मकै र भटमास खाएर प्र्रचारमा लाग्नुहुन्छ । धेरै खर्च गरेर तडकभडक देखाउने काम हामीबाट हुँदैन,’ उनी भन्छन्, ‘५ हप्ता चिउरा खाएपनि असर गर्दैन । मकै भटमास र चिउरा खाएर चुनाव प्रसार गर्ने योजनामा छौं ।’

उम्मेदवार केसीले चुनाव आफैले जित्ने दावी गरिन् । ‘चुनाव मै जित्छु । दोश्रो र तेश्रो हुने उम्मेदवार को हुन् त्यो पछि निर्वाचनको परिणामले देखाउला,’ उनले भनिन् । केसी लामो समय नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेर २ महिनाअघि साझा पार्टी प्रबेश गरेकी हुन् । गएको चुनावमा यो क्षेत्रबाट विवेकशिल साझाले समानुपातिक तर्फ २ हजार ७ सय ६८ मत पाएको थियो भने प्रत्यक्षतर्फका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । काँग्रेसको राजनीतिमा लामो समय विताएका कारण आगामी चुनावमा काँग्रेसको मत केसीले काट्न सक्ने धेरैको आकलन छ ।