२ नम्बर प्रदेशमा कांग्रेस पहिलो हुने निश्चित

एजेन्सी, असोज ५ ।
प्रदेश नं. २ मा भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतको आँकडाले उपेन्द्र यादव नेतृत्वको फोरम मधेसको शक्तिका रूपमा फर्किने देखिएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा अस्तित्वको संकटमा परेको फोरमले कांग्रेसलाई पछ्याउँदै एमालेलाई पछि पारेको छ । ६ दल मिलेर बनेको राजपाले औसत परिणाम ल्याइरहेको छ ।
१३६ स्थानीय तहमा फोरमले २५ तहमा अग्रता लिएको छ । आन्तरिक रूपमा पनि करिब ३० स्थानीय तह जित्ने फोरमको अनुमान थियो । कांग्रेसले ४५, राजपाले २३, एमालेले २१ र माओवादीले १७ स्थानमा अग्रता लिइरहेका छन् । लोकतान्त्रिक फोरम ३ स्थानमा अगाडि छ ।
बलियो संगठन क्रियाशील भएकाले फोरम अगाडि आएको विश्लेषकहरूको भनाइ छ । फोरम सुरुदेखि नै निर्वाचन तयारीमा लागेर जनमत प्रभावित बनाइरहेको थियो । राजपाका अध्यक्षहरू निर्वाचनको अन्तिम समयतिर मात्रै मधेस झरेका थिए, तर फोरमका अध्यक्ष उपेन्द्र यादव निरन्तर मधेसमा सक्रिय रहे । उनलाई साथ दिन वरिष्ठ नेता अशोक राई पनि सक्रिय रहे ।
उता, राजपाले स्थानीय तह निर्वाचनमा करिब ६० स्थानीय तह जित्ने दाबी गरेको थियो । प्रारम्भिक नतिजाले त्यो अपेक्षा पूरा गर्ने सम्भावना देखिएको छैन । ‘हामीले स्थानीय तहको प्रमुख कम जिते पनि वडाहरू धेरै जित्छौँ, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा वडाको मत निर्णायक हुन्छ, त्यसकारण राजपा कमजोर हुँदैन,’ राजपा महामन्त्री केशव झाले बताए ।
स्थानीय निर्वाचनमा ठूला दलहरूले धेरै पैसा र बल प्रयोग गरेको मधेसी नेताहरूको अरोप छ । सत्ताको दुरुपयोग गरी निर्वाचन परिणाम प्रभाव पारेको उनीहरूको बुझाइ छ ।