२६ करोड लागतमा पोखरामा प्राकृतिक चिकित्सालय बन्ने

पोखरा, साउन १ ।
पोखराको प्रसिद्ध धार्मिक संस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय निर्माण गर्ने भएको छ । पोखरा–१ अधिकारी टोल नजिकैको गुठीबारी मार्गमा विविन्ध्यवासिनी मन्दिरको नाममा रहेको २१ रोपनी क्षेत्रफलमा फैलिएको गुठी जग्गामा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय बनाउन लागिएको हो ।

उक्त प्राकृतिक चिकित्सालयको मंगलवार एक कार्यक्रमकाबीच पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलन्यास गरे । पहिलो चरणमा १५ करोड रुपैयाँको लागतमा एक सय शैयाको प्राकृतिक चिकित्सालय बनाईने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न संघसंस्था र व्यक्तिसँग सहयोग रकम जुटाएर उक्त चिकित्सालय निर्माण गर्न लागिएको हो ।

शिलन्यास भएकै दिन मंगलबार विभिन्न व्यक्ति र संस्थाबाट दुई करोड रुपैयाँ सहयोग प्राप्त भएको श्रेष्ठको भनाई छ । ‘चिकित्सालय निर्माणसँगसँगै उपचार पद्दतिलाई पनि जोड्ने छौं । पहिलो चरणमा आवश्यक पूर्वाधार निर्माण हुन्छन्,’ उनले भने, ‘दोस्रो चरणमा १५ करोडबाट लगानी वृद्धि गरी २६ करोड रुपैयाँ पुर्याइने छ । बेड संख्यापनि सयबाट तीन सय पु¥याइने छ ।’

शिलान्यासपछि बोल्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले यो चिकित्सालयलाई पोखराको गहनाको रुपमा विकसित गर्नुपर्ने बताए । उनले आम नागरिकले पनि सर्वसुलभ रुपमा उपचार सेवा प्राप्त गर्न सक्ने गरी ब्यवस्थापन मिलाउन आग्रह गरे ।

२०५४ सालसम्म पोखराको सीमपानीमा प्राकृतिक चिकित्सालय थियो । खासै नचलेपछि त्यो नवलपुर सारियो । त्यहाँ सारेपनि केही पोखरेली प्राकृतिक उपचारका लागि अहिले पनि नवलपुर पुग्न बाध्य छन् । नयाँ बनाउन लागिएको चिकित्सालयमा दीर्घ रोगको समेत उपचार हुनेछ । चिकित्सालय बनाउन प्रदेश सरकारले पनि ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

चिकित्सालय निर्माणको जिम्मा लिएका डा. विनोद गौतम चाहीँ यसलाई अस्पताल भन्दा पनि जिवन जिउन सिकाउने विद्यालयको रुपमा विकास गर्न लागिएको बताउँछन् । प्राकृतिक उपचार प्रणालीमा मान्छेको गलत धारणा रहेको भन्दै उनले पहिले ठूला अस्पताल गएर उपचार सम्भव नभएपछि मात्रै प्राकृतिक चिकित्सालय आउँदा समयमा उपचार नपाएको बताए । वडा नम्बर ४ ले समेत २५ लाख रुपैयाँ सहयोग गरेको छ । वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले राज्यले गर्नुपर्ने काम धार्मिक क्षेत्रले गर्न लागेकोले आँफुले सहयोग गरेको बताए ।

‘हामी धेरै पर्यटन भन्छौं । प्राकृतिक चिकित्सालय पर्यटनसँग पनि जोडिने रहेछ,’ उनले भने, ‘यसलाई सम्पन्न गर्नका लागि हाम्रो पनि दायित्व हो । त्यसैले वडाले लगानी गरेको छ ।’ पोखरा महानगरपालिकाले पनि अन्य सहयोग र अनुदानलाई हेरेर ५० प्रतिशत लगानी गर्ने जनाएको छ । यद्यपी यो घोषणा भने मेयरले गरिसकेका छैनन् ।