२५ नेपालीलाई मृत्युदण्ड, १६ जना बाचुञ्जेल जेलमा

काठमाण्डौं, बैशाख १६ ।
रोजगारीका लागि खाडी पुगेका २५ जना नेपाली कामदारलाई मृत्युदण्डको सजाय सुनाइएको छ । विभिन्न समयमा पुगेका उनीहरुलाई विभिन्न समयमा मृत्युदण्ड सजाय सुनाइएको हो । विदेशस्थित विभिन्न कूटनीतिक नियोगहरुबाट प्राप्त विवरणका आधारमा मृत्युदण्ड पाएका तथा आजीवन कारावासमा रहेका नेपालीहरुको संख्या यकिन गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । मृत्युदण्ड सुनाइएका मलेसियामा सबैभन्दा बढी १६ जना नेपाली रहेका छन् ।

साउदी अरबको रियादमा ५ जना नेपालीलाई मृत्युदण्ड सुनाइएको छ । कुबेतमा ३ र युएईमा एक नेपालीलाई मृत्युदण्ड सुनाइएको छ । हत्या, हिंसा, लगायतका विभिन्न आरोप लागेका नेपाली कामदारलाई मृत्युदण्ड सुनाइएको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदी बताउँछन् ।

रोजगारीका लागि कुवेत पुगेका ९ जना नेपाली कामदारसहित १६ जना आजीवन कारावासमा छन् । युएई, कतार र कुवेतको जेलमा नेपालीहरुलाई आजीवन कारावास सुनाइएको छ । कानुनविपरीत काम गर्दा उनीहरु आजीवन कारावासमा पुगेको बोर्डका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

बहराइनमा २५ वर्ष जेल सजाय सुनाइएका २ जना नेपाली छन् । १५ वर्ष जेल सजाय सुनाइएका कतार, कुवेत र बहराइनमा १–१ जना गरी ३ जना नेपाली रहेका छन् । खाडीका जेलमा रहेका तर सजाय तोकिन बाँकी रहेका २ सय ९३ जना नेपाली छन् ।