२० दिनपछि खुल्यो ईञ्जिनियरिङ क्याम्पसको तालाबन्दी

पोखरा, माघ ३ ।
पोखराको लामाचौर स्थित पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसको तालाबन्दी २० दिनपछि खुलेको छ । क्याम्पस प्रशासन र विद्यार्थीबीच भएको सहमति पछि विद्यार्थीहरु तालाबन्दी खोल्न राजी भएका हुन् । विद्यार्थीहरुले गएको असोज २ गते १७ बुँदे माग सहित क्याम्पस प्रशासनमा ज्ञापन पत्र बुझाएका थिए । तर प्रशासनले वास्ता नगरेपछि विद्यार्थी संगठन (नेविसंघ) ले पुस ११ गतेदेखि आन्दोलन गरेको थियो । ११ गते मौन विरोध गरेका उनीहरुले १२ गते क्याम्पस विरुद्ध नाराबाजी सहित प्रदर्शन गरेका थिए भने १३ गतेदेखि क्याम्पस प्रमुख र सहायक प्रमुखको कोठामा तालाबन्दी भएको थियो ।
त्यसपछि पनि पटक पटकको बैठकले सम्बोधन हुन नसकेको मागका बारेमा बुधबार सहमति जुटेको छ । क्याम्पस प्रशासनले विद्यार्थीका सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएको नेविसंघका ईकाई सभापति अमन भुषालले जानकारी दिए । ‘धेरै पटक हाम्रा समस्याका बारेमा क्याम्पसमा जानकारी गरायौं तर क्याम्पसले खासै वास्ता गरेन, उनले भने–क्याम्पस प्रमुखको कोठामै तालाबन्दी गरेपछि अहिले माग सम्बोधनको सहमति भएको छ । यसको हुबहु कार्यान्वयन हुनुपर्ने हाम्रो अर्को माग हो ।’ उनका अनुसार क्याम्पसले विद्यार्थी विरामी हुँदा सहज गर्न हेल्थ कार्डको ब्यवस्था गर्ने सहमति गरेको छ भने छात्र होस्टलमा इन्टरनेट र आवश्यक सबै फर्निचरको ब्यवस्था गर्नेछ ।
यस्तै विद्यार्थीले क्याम्पसमा पैसा बुझाउँदा १ सय भन्दा कम रकम लेखाशाखामा सिधै बुझाउन मिल्ने र त्यो भन्दा बढी मात्रै बैंकमा जम्मा गर्नुपर्ने ब्यवस्था गरिएको छ । विद्यार्थीले माग गरेका सेमेस्टर ट्रेनिङ पनि क्याम्पसले पूरा गर्ने जनाएको छ । यसबाहेक मैदान ब्यवस्थापन जीर्ण पूर्वाधारको मर्मत सम्भारका लागि पनि क्याम्पस गम्भीर भएर कार्यान्वयन गर्ने सहमति भएको भुषालले जानकारी दिए ।