१ सय ७ जना थुनुवाको निशुल्क स्वास्थ्य परिक्षण

गिता राना मगर, पोखरा २६ कार्तिक ।
कास्की प्रहरीले प्रहरी हिरासतमा रहेका थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । विभिन्न मुद्धामा मुद्धाको प्रकृती अनुसार न्युनतम २४ घण्टादेखी तीन महिना सम्म प्रहरी हिरासतमा रहने अवस्थामा विभिन्न मानसिक, शारिरीक र स्वास्थ्य सम्बन्धी समस्या आउन सक्ने भएकाले त्यसलाई तथा मानवियता तथा मानवअधिकारलाई लक्षित गरेर समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका वडा कार्यालयहरुमा थुनुवामा रहेकाहरुको स्वास्थ्य परिक्षण गरेको हो ।

मणिपाल शिक्षण अस्पतालको प्राविधीक सहयोगमा जिल्ला प्रहरी कार्यालय र मातहतका वडाहरुमा विभिन्न कारणले हिरासतमा थुनुवा भइ बसेकाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए । कुनै पनि ब्याक्तिको आफ्नो मानवियता र मानवअधिकारले प्रत्याभुत गरेको स्वास्थ्य सेवालाई मध्येनजर गरी आफु कास्की सरुवा भएर आउनासाथ यसअघि पनि थुनुवाहरुको स्वास्थ्य परिक्षण गराउदै आइरहेको र यो पटक समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत थुनुवाको स्वास्थ्य परिक्षण गरिएको कार्कीले वताए ।

उक्त कार्यक्रममा १ सय ७ जना थुनुवाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । जसमा सय जना पुरुष र ७ जना महिला रहेका थिए । मणिपाल अस्पतालबाट आएको डाक्टर निलम श्रेष्ठ, डाक्टर स्मीता काफ्ले, डाक्टर एलिशा मानन्धर, अप्प्रोरेमेटिक्स कृष्ण आचार्य र लक्ष्मण तिमिल्सिना र नर्सहरु सरला पौडेल र विपना गुरुङले छाला, आंखा, नाक, कान, घांटी, दांत लगायतका रोगहरुको परिक्षण गरी निशुल्क औषधी समेत वितरण गरेका थिए ।